• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    रोटरी क्लब अफ मेडिको फ्युजन हाईब्रिड नेपालको अध्यक्षमा डा. बिनेश आनन्द शाक्य

    • lumbinisanjal
    • २०८३ श्रावण १, शुक्रबार २२:५२
    364
    SHARES
    रोटरी क्लब अफ मेडिको फ्युजन हाईब्रिड नेपालको अध्यक्षमा डा. बिनेश आनन्द शाक्य

    बुटवल। रोटरी ई- क्लब अफ मेडिको फ्युजन हाईब्रिड नेपालको छैटौँ पदस्थापन समारोह तथा १३६औँ नियमित बैठक शुक्रबार बुटवलमा सम्पन्न भएको छ।

    समारोहमा रोटरी वर्ष २०२५/२६ की अध्यक्ष डा. मञ्जु गुभाजुले रोटरी वर्ष २०२६/२७ का अध्यक्ष डा. बिनेश आनन्द शाक्यलाई पद तथा जिम्मेवारी हस्तान्तरण गरेकी हुन्।

    कार्यक्रमको उद्घाटन गर्दै डिष्ट्रिक्ट गभर्नर–इलेक्ट डा. आई.पी. ढकालले चिकित्सकीय पेशामा व्यस्त रहँदा पनि सामाजिक सेवाप्रति समर्पित हुँदै रोटरी अभियानलाई प्रभावकारी रूपमा अघि बढाइएकोमा क्लबको प्रशंसा गरे। व्यस्त जीवनशैलीका बाबजुद क्लबमार्फत समुदायमा उल्लेखनीय योगदान दिन सकिने उदाहरण मेडिको फ्युजन हाईब्रिड नेपालले प्रस्तुत गरेको उनले बताए।

    निवर्तमान अध्यक्ष डा. मञ्जु गुभाजुले आफ्नो कार्यकालमा सम्पन्न भएका गतिविधिबारे जानकारी दिँदै निःशुल्क स्वास्थ्य शिविरमार्फत दन्त, आँखा, नाक–कान–घाँटी, मानसिक स्वास्थ्यलगायत विभिन्न विधामा सेवा प्रदान गरिएको बताइन्।

    साथै रक्तदान, वृक्षारोपण, सदस्यता विस्तारलगायतका कार्यक्रम सफलतापूर्वक सञ्चालन गरिएको उल्लेख गर्दै यस वर्ष करिब एक लाख रुपैयाँ बराबरको डिष्ट्रिक्ट ग्रान्ट प्राप्त भएकाले थप प्रभावकारी सामाजिक कार्यक्रम सञ्चालन गर्न उत्साह मिलेको बताइन्।

    नवनिर्वाचित अध्यक्ष डा. बिनेश आनन्द शाक्यले क्लबको वार्षिक कार्ययोजना प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य तथा सामुदायिक सेवाका क्षेत्रमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गरिने जानकारी दिए। उनले रोटरीको ‘स्वार्थभन्दा माथि सेवा’ भन्ने मूल मर्मलाई आत्मसात् गर्दै समुदायको हितमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे साथै अध्यक्ष शाक्यले दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना गर्ने उदेश्य सहित रोटरी क्लब अफ मेडिको फ्युजन हाइब्रिड नेपालले यस रोटरी वर्षमा १०,००० बिरुवा रोप्ने लक्ष्य लिएको बताए । उक्त अभियानको सुरुवात क्लबको पदस्थापन समारोहबाटै गरिएको हो । परम्परागत रूपमा अतिथिलाई खादा, माला र बुकेले स्वागत गर्ने प्रचलनलाई परिवर्तन गर्दै यसपटक बिरुवा उपहारस्वरूप प्रदान गरी स्वागत गरिएको हो ।

    हरेक बिरुवाले हरियाली विस्तार, वातावरण संरक्षण र भावी पुस्ताका लागि स्वच्छ वातावरण निर्माणमा योगदान पुर्‍याउने विश्वासका साथ यो अभियान अघि बढाइएको शाक्य बताउँछन् । साना प्रयासबाट पनि ठूलो र दिगो परिवर्तन सम्भव हुन्छ भन्ने सन्देशका साथ क्लबले वर्षभरि १०,००० बिरुवा रोप्ने अभियानलाई निरन्तरता दिने अध्यक्ष शाक्यले बताए ।

    कार्यक्रममा क्लबका सल्लाहकार एजाज आलमले रिजन–५ अन्तर्गत सदस्य संख्या, फण्ड संकलन तथा द रोटरी फाउन्डेसन (TRF) मा योगदानका हिसाबले क्लब अग्रणी रहे पनि पछिल्लो समय तथ्याङ्कीय उपलब्धिमा केही कमजोरी देखिएको उल्लेख गरे। त्यसलाई सुधार गर्न सबै सदस्य एकजुट हुनुपर्नेमा जोड दिँदै उनले रोटरीको वास्तविक पहिचान प्रचारभन्दा पनि सेवामूलक कर्मबाट स्थापित हुने बताए।

    कार्यक्रममा डिष्ट्रिक्ट एड्भाइजरी काउन्सिलका चेयर आर.सी. आचार्य, असाइन्ड असिस्टेन्ट गभर्नर दुजेन्द्र बस्नेत, क्लबका संस्थापक अध्यक्ष डा. सन्तोष पोखरेल, रोटरी क्लब अफ बुटवलका अध्यक्ष यदुनाथ पाण्डेय, क्लब मेन्टर डा. प्रकाश बस्नेत, समाजसेवी विमलबहादुर शाक्य तथा क्लबकी सचिव रश्मिता थपलियालगायतले शुभकामना मन्तव्य व्यक्त राखेका थिए।

    वक्ताहरूले चिकित्सकहरूको व्यस्त पेशागत जीवनका बीच पनि रोटरीजस्ता सामाजिक संस्थामार्फत सेवा गर्नु समाजप्रतिको उत्तरदायित्व पूरा गर्ने उत्कृष्ट माध्यम भएको उल्लेख गर्दै सामाजिक सेवाबाट प्राप्त हुने आत्मसन्तुष्टि नै सबैभन्दा ठूलो उपलब्धि हुने धारणा व्यक्त गरे।



    lumbinisanjal   
  • २०८३ श्रावण १, शुक्रबार २२:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP