• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    बिसिए प्रिमियर लिगको बिजेता बन्यो च्यालेन्जर्स

    • lumbinisanjal
    • २०८२ बैशाख १३, शनिबार १४:५९
    7K
    SHARES
    बिसिए प्रिमियर लिगको बिजेता बन्यो च्यालेन्जर्स

    बुटवल , १३ बैशाख । पहिलो संस्करणको बिसिए प्रिमियर लिगको बिजेता अनमोल बाबू भण्डारीको कप्तानीमा रहेको टिम बिसिए च्यालेन्जर्स भएको छ। ज्योतिनगर मैदानमा आज सम्पन्न लिगको फाइनल खेलमा बिसिए वारियर्सलाई सात(७) विकेटले पराजित गर्दै च्यालेन्जर्स च्याम्पियन बन्न सफल भएको हो।

    वारियर्सले दिएको ११९ रनको लक्ष्य पछ्याएको च्यालेन्जर्सले १७ ओभर ४ बलमा ३ विकेट मात्र गुमाएर लक्ष्य पूरा गर्यो। आजको खेलमा पनि च्यालेन्जर्सका खेलाडी कुशल थापाले आफ्नो लयलाई कायम राख्दै उत्कृष्ट ब्याटिङ गरे। उनले ३४ बलमा ४७ रनको जिम्मेवारपूर्ण इनिङ खेले। उनले ४ चौका र ३ छक्का प्रहार गरे। च्यालेन्जर्सका ओपनर द्वय निरज ज्ञवाली र संस्कार खत्रीले समान १०/१० रन र सिजन खड्काले ५ रनको योगदान दिए। हार्दिक भट्टराई १८ रनमा अविजित रहे।

    बलिङमा वारियर्सका कप्तान निष्कर्ष आचार्य र खेलाडीहरु सुनिल पोखरेल र सार्थक गाहाले एक-एक विकेट लिए। त्यस अघि टस जित्दै च्यालेन्जर्सका कप्तान अनमोल बाबु भण्डारीले वारियर्सलाई ब्याटिङको निम्तो दिएका थिए।

    टस हारेर ब्याटिङ गरेको वारियर्सले १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ११८ रन बनाएको थियो। वारियर्सका लागि डिप्सन ज्ञवालीले २०, विनायक खनालले १४, सार्थक गाहा र कप्तान निष्कर्ष आचार्यले ५/५, सक्षम शाक्य, सुनिल पोखरेल र विवश चौहानले समान ४/४ रनको योगदान दिए। उत्कृष्ट श्रेष्ठ, अनुष्का खत्री र सिजन पाण्डेले १/१ रन जोडे।

    वारियर्सलाई सस्तैमा आउट गर्ने क्रममा च्यालेन्जर्सका कप्तान अनमोल बाबू भण्डारी, खेलाडी द्वय निरज ज्ञवाली र देव अर्यालले समान २/२ विकेट लिन सफल भए। त्यसैगरी कुशल थापा, सिजन खड्का, विराट बराल र हार्दिक भट्टराईले १/१ विकेट हात पारे। आजको खेलमा वारियर्सका डिप्सन ज्ञवाली एवं च्यालेन्जर्सका हार्दिक भट्टराई प्लेयर अफ द डे घोषित भए भने च्यालेन्जर्सका कुशल थापा म्यान अफ द म्याच बने।

    २०८२ बैशाख ६ गतेका लागि तय भएको फाइनल खेल बर्षाका कारण सो दिन हुन नसकेकाले आजलाई सारिएको थियो। यहीँ बैशाख १८ गते बुटवल क्रीकेट एकेडेमीमा एक कार्यक्रमका बिच बिजेता टोली र खेलाडीहरुलाई नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने र सोही कार्यक्रममा लिगमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमध्येबाट प्लयेर अफ द सिरिज, बेस्ट बलर र बेस्ट ब्याट्सम्यान छनोट गरि पुरस्कृत गरिने प्रशिक्षक एवं संयोजक सुजित श्रेष्ठले जानकारी गराउनुभयो।

    हाल बुटवल क्रीकेट एकेडेमीमा ४६ जना खेलाडीहरु भर्ना भइ निरन्तर अभ्यासमा रहेकोमा उनीहरुको प्रतिभा पहिचान गरि उपयुक्त तवरले आफुहरुले खेल सीप सिकाउदै आइरहेको जानकारी एकेडेमीका प्रमुख प्रशिक्षक घनश्याम थारुले दिनुभयो।



    lumbinisanjal   
  • २०८२ बैशाख १३, शनिबार १४:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP