• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    परदेशको पीडा र गाउँको माया बोकेर आए काशी भण्डारी, ‘देशै पियारो’ सार्वजनिक(भिडियो)

    • lumbinisanjal
    • २०८३ आश्विन १८, आईतवार ०५:५६
    533
    SHARES
    परदेशको पीडा र गाउँको माया बोकेर आए काशी भण्डारी, ‘देशै पियारो’ सार्वजनिक(भिडियो)

    प्रशंसा भण्डारी / बुटवल । रोजगारीका  लागि परदेशिएका नेपालीको दुःख, संघर्ष, ऋणको बोझ र चाडपर्वमा घर–गाउँको सम्झनालाई भावनात्मक रूपमा समेटिएको नयाँ गीत ‘देशै पियारो ’ सार्वजनिक भएको छ। गीतमा गुल्मी धुर्कोट–बस्तुका काशी भण्डारीको मार्मिक प्रस्तुति रहेको छ।

    ‘धन कमाउन मुग्लान गएँ, उल्टै लाग्यो ऋण, खै कस्ले पो सुनिदेला प्रदेशीको पीडा’ भन्ने भावलाई गीतले मुख्य रूपमा उठाएको छ। रोजगारीका लागि घरपरिवार र जन्मभूमि छाडेर परदेश पुगेका नेपालीले भोग्ने आर्थिक अभाव, ऋणको बोझ, परिवारसँगको दूरी र मनभरिको स्वदेश प्रेमलाई गीत तथा भिडियोमार्फत प्रस्तुत गरिएको छ।

    विशेषगरी दसैँ, तिहारलगायतका चाडपर्वमा घर फर्किन नपाउँदा मनमा उब्जिने गाउँघरको सम्झना, परिवारसँगै चाड मनाउने रहर र परदेशमै बसेर आफ्ना प्रियजनलाई सम्झनुपर्दाको पीडा गीतमा भावनात्मक रूपमा चित्रण गरिएको छ। कमाउन परदेशिए पनि मन भने आफ्नै गाउँ, घरआँगन र परिवारमै रहने परदेशीको भावनालाई ‘देशै पियारो’ले उजागर गरेको छ।

    गीतमा काशी भण्डारी र सरोज बिरही कार्कीको शब्द तथा संगीत रहेको छ। सरोज बिरही कार्कीले स्वर तथा एरेन्ज गरेका छन्। गीतको रेकर्डिङ गोपाल दयालले गरेका हुन् भने मिक्स तथा मास्टरिङ मनोज परियारले गरेका छन्।

    गीतको भिडियोमा काशी भण्डारी, समीक्षा सापकोटा, लक्ष्मण भण्डारी र सबिना पोखरेलको अभिनय रहेको छ। भिडियो निर्देशन मिलन श्रेष्ठले गरेका छन् भने छायांकन सन्तोष तिमल्सिना, मेकअप शोभना न्यौपाने तथा सम्पादन र कलर रोशन ढकालले गरेका हुन्।

    गीत ‘भण्डारी काशी’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

    यसअघि पनि सर्जक काशी भण्डारीले ‘रामनामी ओढाइदेऊ’ बोलको गीतमार्फत आफ्ना सिर्जना प्रस्तुत गर्दै आएका छन्। ‘देशै पियारो’मार्फत भने उनले वैदेशिक रोजगारीमा रहेका नेपालीको जीवन, चाडपर्वमा गाउँघरको सम्झना र स्वदेशप्रतिको भावनालाई गीत तथा भिडियोमा उतारेका छन्।

    धुर्कोट गाउँपालिका–बस्तु, गुल्मीमा जन्मिएका भण्डारी हाल रोजगारीको सिलसिलामा जापानमा रहेका छन्। परदेशमै रहेर पनि नेपाली समाज, गाउँघर र परदेशी जीवनका भोगाइलाई सिर्जनामार्फत प्रस्तुत गर्दै आएका भण्डारीले ‘देशै पियारो’मा आफ्नै अनुभव र वरपर देखेका परदेशी जीवनका कथालाई भावनासँग जोड्ने प्रयास गरेका छन्।

    हेर्नुहोस भिडियो :

     



    lumbinisanjal   
  • २०८३ आश्विन १८, आईतवार ०५:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP