• २०८३ आश्विन १७ | Sat, 03 Oct 2026
  • Dark Mode

          Subscribe

    स्थानीय उत्पादनदेखि पर्यटनसम्मः वाणगंगामा हुँदैछ दोस्रो कपिलवस्तु व्यापार मेला

    • lumbinisanjal
    • २०८३ आश्विन १६, शुक्रबार ०९:३८
    104
    SHARES
    स्थानीय उत्पादनदेखि पर्यटनसम्मः वाणगंगामा हुँदैछ दोस्रो कपिलवस्तु व्यापार मेला

    वाणगंगामा एउटै साझा मेला बनाउन समन्वय जारी राख्ने अध्यक्ष बेल्बासेको प्रतिबद्धता
    डिलाराम भुसाल / कपिलवस्तु । स्थानीय कृषि, पर्यटन, उद्योग तथा ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यसहित वाणगंगास्थित मायादेवी रंगशालामा दोस्रो कपिलवस्तु व्यापार मेला तथा कृषि, पर्यटन एवं औद्योगिक प्रदर्शनी आयोजना हुने भएको छ।
    उद्योग व्यापार संघ कपिलवस्तुको आयोजनामा आगामी मंसिर ५ देखि १७ गतेसम्म सञ्चालन हुने मेलामा स्थानीय उत्पादन, कृषि उपज, उद्योग तथा पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ।

    मेलाबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष टोपनारायण बेल्बासेले मेला केवल मनोरञ्जन र खरिद–बिक्रीमा सीमित नभई वाणगंगाको पहिचान, अपनत्व र स्थानीय समृद्धिसँग जोडिनुपर्ने बताए।

    वाणगंगामा दुईवटा मेला आयोजना हुँदा प्रभावकारिता घट्ने भन्दै पत्रकारहरूले राखेको जिज्ञासाप्रति सकारात्मक बन्दै अध्यक्ष बेल्बासेले वाणगंगामा साझा र एउटै मेला सञ्चालन गर्ने वातावरण बनाउन निरन्तर समन्वय गरिरहेको बताए।

    “हामी वाणगंगामा साझा र एउटै मेला सञ्चालन गर्ने वातावरण बनाउन निरन्तर प्रयासरत छौँ। पटक–पटकको छलफल निष्कर्षमा नपुगे पनि समन्वयको ढोका अझै खुला छ,” उनले भने।
    उनले स्थानीय कृषि उत्पादनको बजारीकरण र व्यवसायको व्यावसायीकरणलाई मेलाको मुख्य उद्देश्यका रूपमा अघि सारिएको बताए।

    संघका निवर्तमान अध्यक्ष खिमानन्द पौडेल ‘कोपिलु’ले विगतमा भएको तीनपक्षीय सहमति कार्यान्वयन हुन नसकेपछि छुट्टै मेला आयोजना गर्नुपर्ने अवस्था आएको स्पष्ट पारे। पहिलो मेलाको सफलताबाट उत्साहित भएको बताउँदै उनले अघिल्लो वर्षको अनुभवलाई समेटेर दोस्रो संस्करणलाई अझ व्यवस्थित, आकर्षक र नमुनायोग्य बनाउने बताए।

    व्यवसायीका हकहित र समस्यालाई उजागर गर्न सञ्चार क्षेत्रसँगको सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो। मेलामा स्थानीय व्यवसायी, कृषक तथा उद्योगीका उत्पादनको प्रदर्शनीसँगै विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ। कपिलवस्तु डान्स आइडल, मम्मी डान्स, भजन प्रतियोगिता, वाणगंगा स्तरीय गायन प्रतियोगिता तथा विद्यालयस्तरीय नृत्य प्रतियोगिता मेलाका प्रमुख आकर्षण रहनेछन्।

    संघका प्रथम उपाध्यक्ष बासुदेव खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महासचिव माधव भाट क्षेत्रीले गरेका थिए। स्वागत मन्तव्यका क्रममा खनालले उद्योगी, व्यवसायी तथा सम्पूर्ण नगरवासीको साझा उत्सवका रूपमा मेलालाई भव्य र सफल बनाउन सबैको साथ आवश्यक रहेको बताए। महासचिव भाट क्षेत्रीले सञ्चार क्षेत्र र व्यावसायिक संस्थाबीचको सहकार्यबाट मात्रै स्थानीय विकास र समृद्धिलाई थप गति दिन सकिने बताए।

    व्यापार, कृषि, पर्यटन र मनोरञ्जनलाई एउटै थलोमा जोड्ने मेलाले वाणगंगाको आर्थिक गतिविधिलाई थप चलायमान बनाउँदै स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।



    lumbinisanjal   
  • २०८३ आश्विन १६, शुक्रबार ०९:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP