• २०८३ आश्विन १८ | Sun, 04 Oct 2026
  • Dark Mode

          Subscribe

    वेस्टर्न मेगा कलेजमा बीएचएम र बीआईटीका नयाँ विद्यार्थीलाई अभिमुखीकरण

    • lumbinisanjal
    • २०८३ आश्विन १८, आईतवार ०६:१७
    52
    SHARES
    वेस्टर्न मेगा कलेजमा बीएचएम र बीआईटीका नयाँ विद्यार्थीलाई अभिमुखीकरण

    बुटवल । वेस्टर्न मेगा कलेज, ढबाह –१५, बुटवलले २०२६ शैक्षिक सत्रमा भर्ना भएका ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम) र ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) का नयाँ विद्यार्थीका लागि शैक्षिक अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।

    नयाँ विद्यार्थीलाई कलेजको शैक्षिक वातावरण, नियम तथा नियमन, अध्ययन प्रणाली, इन्टर्नसिपका अवसर र भविष्यमा उपलब्ध करिअरका सम्भावनाबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कलेजले जनाएको छ। कार्यक्रममा विद्यार्थी, प्राध्यापक, प्रशासनिक कर्मचारी तथा आतिथ्य र प्रविधि क्षेत्रका व्यवसायिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

    कार्यक्रममा शैक्षिक संयोजक यज्ञप्रसाद न्यौपानेले स्वागत मन्तव्य दिँदै विद्यार्थीका लागि उपलब्ध शैक्षिक अवसर र जिम्मेवारीबारे प्रकाश पारे। उनले अध्ययन अवधिभर अनुशासन, नियमित उपस्थिति, सक्रिय सहभागिता र लगनशीलतालाई प्राथमिकता दिन विद्यार्थीलाई आग्रह गरे।

    इलाहोटल एन्ड रिसोर्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लक्ष्मण थापाले आतिथ्य क्षेत्रमा रोजगारी तथा करिअरका अवसरबारे जानकारी दिँदै व्यावसायिक दक्षता, व्यावहारिक अनुभव, इन्टर्नसिप, सञ्चार सीप र व्यक्तित्व विकासको महत्त्वमा जोड दिए।

    त्यस्तै, एआई/आईयूएल इन्जिनियर अमृत रानाभाटले सूचना प्रविधिको पछिल्लो विकास र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रयोगबारे जानकारी गराए। उनले पाठ्यपुस्तकमा मात्र सीमित नभई व्यावहारिक प्राविधिक सीप विकास गर्न, परियोजनामा काम गर्न तथा नयाँ प्रविधि र उद्योगका आवश्यकताबारे निरन्तर अपडेट रहन विद्यार्थीलाई सुझाव दिए।

    कलेजका प्रिन्सिपल अधिवक्ता किशु शर्माले नयाँ विद्यार्थीलाई स्वागत गर्दै व्यावहारिक तथा प्रविधिमैत्री शिक्षालाई कलेजले प्राथमिकता दिएको बताए। उनले सिर्जनशीलता, आत्मनिर्भरता, अनुशासन र धैर्य विकास गर्न विद्यार्थीलाई आग्रह गर्दै शैक्षिक योग्यतासँगै व्यावहारिक सीप र व्यक्तिगत विकासलाई पनि जोड दिनुपर्ने बताए।

    कार्यक्रममा बीएचएम संयोजक सेफ विकास खत्रीले शैक्षिक नियम, परीक्षा प्रणाली, पुस्तकालय सुविधा तथा इन्टर्नसिपका अवसरबारे विद्यार्थीलाई जानकारी गराएका थिए। अभिमुखीकरणमार्फत नयाँ विद्यार्थीले आफ्नो अध्ययन कार्यक्रमबारे बुझ्ने, प्राध्यापकसँग अन्तरक्रिया गर्ने तथा सम्बन्धित क्षेत्रका विज्ञबाट भावी करिअरबारे जानकारी लिने अवसर पाएका थिए।

    एलिजा बज्राचार्यले सञ्चालन गरेको कार्यक्रममा नयाँ विद्यार्थी, प्राध्यापक तथा आमन्त्रित अतिथिको उत्साहजनक सहभागिता रहेको थियो।  



    lumbinisanjal   
  • २०८३ आश्विन १८, आईतवार ०६:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP