• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    मानवताको सेवामा बुटवल सोसल ग्रुप : छैटौँ रक्तदान अभियानबाट ५१ युनिट रगत संकलन

    • lumbinisanjal
    • २०८३ श्रावण १०, आईतवार १४:३९
    13
    SHARES
    मानवताको सेवामा बुटवल सोसल ग्रुप : छैटौँ रक्तदान अभियानबाट ५१ युनिट रगत संकलन

    बुटवल । सामाजिक सेवामा निरन्तर सक्रिय बुटवल सोसल ग्रुपले आफ्नो छैटौँ रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक), अमरपथ बुटवलमा आयोजित कार्यक्रममा ५१ युनिट रगत संकलन भएको आयोजकले जनाएको छ।

    समाजमा देखिने रगतको अभाव न्यूनीकरण गर्दै मानवीय सेवामा योगदान पुर्‍याउने उद्देश्यले आयोजित कार्यक्रममा ग्रुपका सदस्य, विभिन्न सामाजिक अभियन्ता, युवा तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।

    कार्यक्रमका अध्यक्ष भोज थापाले रगतदान नै जीवनदान भएकाले प्रत्येक स्वस्थ नागरिकले नियमित रूपमा रक्तदान गर्नुपर्ने बताए। सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै बुटवल सोसल ग्रुपले रक्तदान, विपद् सहयोग तथा अन्य जनहितका अभियानलाई आगामी दिनमा पनि निरन्तर अघि बढाउने प्रतिबद्धता उनले व्यक्त गरे।

    ग्रुपका सचिव अशोक राईले सामाजिक सेवामा सबैको साझा सहभागिता आवश्यक रहेको उल्लेख गर्दै रक्तदानजस्ता अभियानले मानवता, सहकार्य र सामाजिक एकतालाई थप मजबुत बनाउने बताए ।  उनले युवाहरूलाई यस्ता अभियानमा अझ सक्रिय रूपमा जोडिन आग्रह गरे ।

    कार्यक्रमका संयोजक डा. बिनेश शाक्यले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रममा सहभागी सम्पूर्ण रक्तदाता, सहयोगी संस्था तथा स्वयंसेवकप्रति आभार व्यक्त गरे। उनले एक युनिट रगतले बिरामीको जीवन बचाउन सक्ने भएकाले रक्तदानलाई नियमित सामाजिक संस्कारका रूपमा विकास गर्नुपर्ने धारणा राखे।

    कार्यक्रममा रक्तदान गर्ने सबै रक्तदातालाई प्रमाणपत्र प्रदान गरिएको थियो। बुटवल सोसल ग्रुपले आगामी दिनमा पनि समाजप्रति उत्तरदायी रहँदै रक्तदानसहित विभिन्न सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रमलाई निरन्तर सञ्चालन गर्ने जनाएको छ।



    lumbinisanjal   
  • २०८३ श्रावण १०, आईतवार १४:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP