• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    दुई महिना नपुग्दै विपद्का १८ सय बढी घटना, ८६ जनाको मृत्यु

    • lumbinisanjal
    • २०८३ जेष्ठ २२, शुक्रबार १४:१८
    234
    SHARES
    दुई महिना नपुग्दै विपद्का १८ सय बढी घटना, ८६ जनाको मृत्यु

    काठमाडौं,२२ जेठ । चालू आर्थिक वर्ष २०८३ को वैशाख १ गतेदेखि जेठ २२ गतेसम्मको छोटो अवधिमा देशभर विपद्का घटनामा परी ८६ जनाको मृत्यु भएको छ । ४ सय ७२ जना घाइते भएका छन् ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार उक्त अवधिमा विपद्का १ हजार ८ सय ४९ घटना दर्ता भएका छन् ।

    यस अवधिमा विपद्का कारण कुल २ हजार ४ सय ४८ परिवार प्रभावित भएका प्राधिकरणले जनाएको छ ।

    लेक लाग्नु र आगलागीबाट सबैभन्दा बढी मानवीय क्षति

    प्राप्त विवरण अनुसार यस अवधिमा सबैभन्दा बढी मानवीय क्षति लेक लाग्नु र आगलागीका कारण भएको छ । लेक लाग्नु ४५ वटा घटनामा सबैभन्दा धेरै १८ जनाको मृत्यु भएको छ भने २८ जना घाइते र ४४ परिवार प्रभावित भएका छन् ।

    त्यस्तै यस अवधिमा सबैभन्दा धेरै ६ सय ३६ वटा आगलागीका घटनाहरू भएका छन् । जसमा १५ जनाको मृत्यु र ७८ जना घाइते भए भने ६८८ परिवार प्रत्यक्ष प्रभावित बनेका छन् ।

    चट्याङ, हावाहुरी र सर्पदंशका घटना बढ्दै

    गर्मी र वर्षाको सुरुवाती मौसमसँगै चट्याङ र हावाहुरीले पनि ठूलो क्षति पुर्‍याएको तथ्यांकले देखाएको छ । यो अवधिमा १ सय ४८ वटा चट्याङका घटनामा परी १४ जनाको मृत्यु भएको छ र ८४ जना घाइते भएका छन् । त्यस्तै ४ सय वटा विनाशकारी हावाहुरीका घटनामा १३ जनाको मृत्यु हुनुका साथै ५९ जना घाइते र १ हजार १ सय ४९ परिवार प्रभावित भएका छन् ।

    तराई तथा पहाडी क्षेत्रमा १ सय ७५ वटा सर्पदंशका घटना हुँदा ९ जनाको मृत्यु र १६६ जना घाइते भएका प्राधिकरणद्वारा जारी तथ्यांकमा उल्लेख छ ।

    विपद्का अन्य घटनाहरू वन्यजन्तुको आक्रमण ७ जना, बाढी र पहिरोमा परी ६ जना, डुङ्गा पल्टिएर २ जना, वन डढेलोबाट १ जना र हिउँ पहिरोबाट १ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

    सरकार तथा सरोकारवाला निकायहरूले मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र अन्य प्राकृतिक विपद्को जोखिम अझै बढ्न सक्ने भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन र आवश्यक सूचनाका लागि प्राधिकरणको आधिकारिक सामाजिक सञ्जाल पेजहरू पछ्याउन आग्रह गरेका छन् ।



    lumbinisanjal   
  • २०८३ जेष्ठ २२, शुक्रबार १४:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP