• २०८३ भाद्र ८ | Mon, 24 Aug 2026
  • Dark Mode

          Subscribe

    बुटवल बहुमुखी क्याम्पसमा समाजशास्त्रका विद्यार्थीलाई शोधपत्र लेखनसम्बन्धी अभिमुखीकरण

    • lumbinisanjal
    • २०८३ भाद्र ६, शनिबार २०:०४
    182
    SHARES
    बुटवल बहुमुखी क्याम्पसमा समाजशास्त्रका विद्यार्थीलाई शोधपत्र लेखनसम्बन्धी अभिमुखीकरण

    बुटवल । बुटवल बहुमुखी क्याम्पसको समाजशास्त्र विभागको आयोजनामा शोधपत्र लेखनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
    समाजशास्त्रमा एमए चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीलाई शोधपत्र लेखन प्रक्रिया, अनुसन्धानका विधि तथा शोधकार्यका विभिन्न चरणबारे आवश्यक जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

    कार्यक्रमको उद्घाटन गर्दै क्याम्पस प्रमुख डा. अरुणकुमार क्षेत्रीले समाजशास्त्र विभागले विद्यार्थीमा अनुसन्धान संस्कृतिको विकास गर्दै स्थानीय तथा समसामयिक सामाजिक विषयमा आधारित अध्ययन–अनुसन्धानलाई प्रोत्साहन गर्दै आएको बताउनुभयो। उहाँले अभिमुखीकरणले विद्यार्थीलाई आगामी शोधकार्यका लागि थप उत्साहित, जिम्मेवार र आत्मविश्वासी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

    कार्यक्रममा समाजशास्त्र विभागका विभागीय प्रमुख जिवनारायण अधिकारीले शोधपत्र लेखनका क्रममा शैक्षिक अनुशासन, अनुसन्धानको नैतिकता, तथ्यमा आधारित विश्लेषण तथा एपीए शैलीमा सन्दर्भ सामग्री प्रयोग गर्नुपर्ने विषयमा सहजीकरण गर्नुभयो। उहाँले विद्यार्थीलाई आफ्नो रुचि, स्थानीय सामाजिक परिवेश तथा समसामयिक सामाजिक समस्यासँग सम्बन्धित विषय छनोट गरी व्यवस्थित र वैज्ञानिक ढंगले शोधकार्य अघि बढाउन सुझाव दिनुभयो।

    अभिमुखीकरणमा समाजशास्त्र–५९३ अन्तर्गत शोधपत्र लेखनका लागि आवश्यक अनुसन्धान प्रक्रिया, विषय छनोट, शोध समस्याको पहिचान, उद्देश्य निर्धारण, अनुसन्धान प्रश्न निर्माण, साहित्य समीक्षा, अनुसन्धान विधि, तथ्यांक संकलन तथा विश्लेषण, निष्कर्ष लेखन र सन्दर्भ सामग्रीको प्रयोगलगायतका विषयमा जानकारी दिइएको थियो।

    कार्यक्रममा समाजशास्त्र विभागका प्राध्यापक तथा विषयविज्ञ लेखनाथ खनाल, सीताराम भट्टराई, गोपाल भण्डारी र केशव भट्टराईले शोधपत्र लेखनका विभिन्न पक्षमा सहजीकरण गर्नुभएको थियो। विद्यार्थीहरूले शोधपत्रको विषय छनोट, अनुसन्धान विधि, तथ्यांक संकलन तथा विश्लेषणलगायतका विषयमा जिज्ञासा राखेका थिए। सहजकर्ताहरूले विद्यार्थीका जिज्ञासाको समाधान गर्दै शोधकार्यलाई प्रभावकारी र गुणस्तरीय बनाउन आवश्यक सुझाव दिनुभएको थियो।

    कार्यक्रमले विद्यार्थीलाई अनुसन्धानको सैद्धान्तिक तथा व्यावहारिक पक्ष बुझ्न, शोधपत्र लेखनका लागि आवश्यक सीप विकास गर्न तथा आफ्नो अनुसन्धानलाई व्यवस्थित रूपमा अघि बढाउन महत्वपूर्ण सहयोग पुगेको सहभागी विद्यार्थीहरूले बताएका छन्।

    समाजशास्त्र विभागका विभागीय प्रमुख जिवनारायण अधिकारीको अध्यक्षता तथा प्राध्यापक सीताराम भट्टराईको सञ्चालनमा सम्पन्न कार्यक्रममा समाजशास्त्र विभागमा अध्यापनरत प्राध्यापक तथा एमए चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो।



    lumbinisanjal   
  • २०८३ भाद्र ६, शनिबार २०:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP