• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    के आन्दोलन नै देश विकास र परिवर्तनको निकास हो?

    • lumbinisanjal
    • २०८२ पुष ९, बुधबार ०९:०७
    3.8K
    SHARES
    के आन्दोलन नै देश विकास र परिवर्तनको निकास हो?

    बढ्दै गएको चरम निराशाको बीच आशाको किरण बनेर उदय भएको वर्तमान सरकारप्रति यति छिट्टै आलोचना किन? आम नेपाली जनताको आशा, भरोसा र जीवनका असल अभिभावक बनी देशको समग्र विकास, युवाहरूको निकास, शान्ति, समृद्धि र एकताको नारा घन्काउँदै देशमा व्याप्त चरम भ्रष्टाचार र बेथितिको अन्त्य गर्न तथा युवाजनचाहनाअनुरूप कार्य सम्पादन गर्न बनेको सरकार कतै अन्योलमा त परेको छैन? यदि छैन भने किन र केका लागि अब पनि आन्दोलन र विरोधाभास?

    वर्तमान सरकार केका लागि हो? यसको आवश्यकता किन थियो? यसले तत्काल गर्नुपर्ने काम के–के थिए? यो सरकार चुनाव केन्द्रित मात्रै हुने हो कि? सुशासन र भ्रष्टाचार अन्त्यका लागि के–कस्ता ठोस कदम चाल्नुपर्ने थियो? यस्ता र यस्तै विषयमा गम्भीर ध्यानाकर्षण हुन नसकेकै हो कि? कि राम्रो काम गरिरहँदा पनि विरोध गर्नैपर्ने हाम्रो संस्कार बसिसकेको हो?

    हामी सम्पूर्ण नेपालीहरूले आत्मसात गर्नैपर्ने यथार्थ के हो भने—हामी राम्रोभन्दा नराम्रो कुरामा बढी चासो दिँदै आलोचना गर्न र विरोध गर्न हतारिन्छौं। त्यसैले वर्तमान सरकारविरुद्ध यति छिट्टै आलोचना र आन्दोलन गर्नुपर्ने मनासिब कारण मैले देख्दिनँ। वर्तमान सरकारको गठन र विस्तारलाई नियालेर हेरौँ—कति शिक्षित, अनुभवी र दूरदर्शी व्यक्तित्वहरू यसमा सहभागी छन्। सबैका आ–आफ्ना अनुभव र दृष्टिकोण छन्।

    यसअघिका मन्त्रिपरिषद् कसरी गठन हुन्थे, कस्ता मानिस मन्त्री बन्थे भन्ने कुरा त सर्वविदित नै छ। तुलनात्मक रूपमा हेर्दा हरेक पक्षमा यो सरकार सक्षम देखिन्छ। कार्यप्रक्रिया फरक हुन सक्छ, तर आन्दोलन र विरोधका नारा लगाउँदै दुई–चार शब्दमार्फत आक्रोश पोख्दै केही समूह बनाएर आफू नेता बनेझैँ व्यवहार नगरिदिन विनम्र अनुरोध गर्दछु। किनकि आज नेपालमा धेरै बोल्ने, आन्दोलन र विरोध गर्नेहरूलाई नै नेता ठान्ने प्रवृत्ति बढ्दै गएको छ।
    हो, समय, परिस्थिति र इतिहास फर्केर हेर्दा आजसम्म भएका आमूल परिवर्तनहरू आन्दोलनमार्फत नै भएका देखिन्छन्। तर २१औँ शताब्दीमा आइपुग्दा हामीले के परिवर्तन ल्यायौँ त भन्ने प्रश्नमा आत्मसमीक्षा गर्नैपर्छ। विश्व राजनीतिक अवस्था नियाल्दा नेपालमा मात्र किन राजनीतिक स्थिरता कायम हुन सकेको छैन? के यो शक्ति राष्ट्रहरूको चलखेल हो? कि हामीमा अझै राजनीतिक चेतनाको अभाव छ? कि हामी सधैँ अरूकै भरिया बनेर देश चलाउने दुस्साहस गरिरहेकै छौँ?

    यी र यस्तै विषयवस्तुमा गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु। देशलाई समृद्धिको बाटोमा कसरी लैजाने? के र कसरी सुशासन कायम गर्ने? हामी सबै नेपालीलाई एकताको सूत्रमा कसरी बाँध्ने? दिगो विकास र शान्तिका लागि के–कस्ता पहल गर्नुपर्ने हो? यस सरकारलाई साथ कसरी दिने? र बाटो बिराउन खोजे कसरी खबरदारी गर्ने?

    यी सबै प्रश्नहरूलाई आत्मसात गर्दै अगाडि बढ्न सके अवश्य पनि “मेरो देश नेपाल शान्त र समृद्ध छ” भनेर गर्वका साथ सधैँ हाम्रो शिर उच्च रहनेछ। सबैको जय होस्।
    धन्यवाद।

    विशाल भण्डारी
    (धुर्कोट गाउँपालिका, गुल्मी)



    lumbinisanjal   
  • २०८२ पुष ९, बुधबार ०९:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP