• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    रुपन्देही क्रिकेट संघको अध्यक्षमा शक्ति गौचनको उम्मेदवारी

    • lumbinisanjal
    • २०८३ जेष्ठ २०, बुधबार ११:०२
    338
    SHARES
    रुपन्देही क्रिकेट संघको अध्यक्षमा शक्ति गौचनको उम्मेदवारी

    बुटवल,२० जेठ । नेपालका पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटर, अनुभवी स्पिनर एवं क्रिकेट प्रशिक्षक शक्ति गौचन रुपन्देही क्रिकेट संघको अध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिएका छन्। दुई दशकभन्दा बढी समय नेपाली क्रिकेटमा योगदान दिएका गौचनले अब आफ्नो अनुभव क्रिकेट प्रशासनमा प्रयोग गर्दै रुपन्देही क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित उम्मेदवारी घोषणा गरेका हुन्।

    नेपालका चर्चित क्रिकेटरमध्ये एक गौचनले सन् २००२ देखि राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा महत्वपूर्ण योगदान दिएका थिए। उनी नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक गर्ने पहिलो खेलाडीका रूपमा समेत परिचित छन् ।

    अध्यक्ष पदका उम्मेदवार गौचनले रुपन्देही क्रिकेटको समग्र विकासका लागि पाँच प्राथमिक एजेण्डा सार्वजनिक गरेका छन्।

    जसमा ग्रासरुट क्रिकेट विकास, अन्तर्राष्ट्रिय अनुभवको उपयोग, क्रिकेटको ब्रान्ड भ्यालु तथा प्रायोजन विस्तार, खेलाडीलाई रोल मोडलका रूपमा स्थापित गर्ने वातावरण निर्माण तथा गुटबन्दीमुक्त प्रशासन रहेका छन्।

    उनले जिल्लाका गाउँ–गाउँसम्म क्रिकेटको पहुँच विस्तार गर्दै प्रतिभा पहिचान र उत्पादनलाई प्राथमिकतामा राख्ने बताएका छन्। क्रिकेट एकेडेमीलाई थप प्रभावकारी बनाउने, प्रशिक्षक उत्पादनमा जोड दिने तथा निजी क्षेत्रसँग सहकार्य गरी क्रिकेटमा लगानी भित्र्याउने योजना समेत उनको छ।

    रुपन्देही क्रिकेट संघको निर्वाचन जेठ २५ गते हुँदैछ। पूर्व खेलाडी, प्रशिक्षक र क्रिकेट अभियन्ताका रूपमा स्थापित गौचनको उम्मेदवारीलाई रुपन्देही क्रिकेटको भविष्यसँग जोडेर हेरिएको छ।

    गौचनलाई ‘तपाईंको उम्मेदवारी किन ?’ भन्ने प्रश्नको जवाफमा शक्ति गौचन यसो भन्छन् :-

    “मैले जीवनको सबैभन्दा महत्वपूर्ण समय क्रिकेटमै बिताएको छु। खेलाडी हुँदा मैदानमा लडें, प्रशिक्षक हुँदा प्रतिभा उत्पादनमा लागें। अब रुपन्देही क्रिकेटलाई व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने जिम्मेवारी लिन खोजेको हुँ।

    म पदका लागि होइन, क्रिकेटको भविष्यका लागि उम्मेदवार बनेको हुँ। रुपन्देहीमा प्रतिभाको कमी छैन, अवसर र व्यवस्थापनको खाँचो छ। मेरो लक्ष्य गुटभन्दा माथि उठेर क्रिकेटलाई जिताउनु हो।”



    lumbinisanjal   
  • २०८३ जेष्ठ २०, बुधबार ११:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP