• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    वेस्टर्न मेगा कलेजमा महिनावारी स्वास्थ्य र सरसफाइबारे सचेतना कार्यक्रम सम्पन्न

    • lumbinisanjal
    • २०८३ जेष्ठ २०, बुधबार १७:४०
    234
    SHARES
    वेस्टर्न मेगा कलेजमा महिनावारी स्वास्थ्य र सरसफाइबारे सचेतना कार्यक्रम सम्पन्न

    बुटवल, २० जेठ । वेस्टर्न मेगा कलेज, बुटवलमा अध्ययनरत बीएचएम तथा एमबीए तहका विद्यार्थी, कलेजका शिक्षक–कर्मचारी र अन्य सरोकारवालाहरूको सहभागितामा “Menstruation Health, Hygiene and Awareness” विषयक एकदिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

    कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालकी वरिष्ठ नर्सिङ निरीक्षक मधुरी ज्ञवालीले सहजीकरण गर्दै महिलाहरूमा महिनावारीका समयमा देखिने विभिन्न स्वास्थ्य समस्या, तिनको पहिचान, उपचारका उपाय, व्यक्तिगत सरसफाइ तथा आवश्यक सावधानीबारे विस्तृत जानकारी दिनुभएको थियो।

    कार्यक्रममा सहभागी विद्यार्थीहरूले महिनावारीसँग सम्बन्धित विविध जिज्ञासा राख्दै अन्तरक्रियात्मक छलफल गरेका थिए। महिनावारी प्राकृतिक जैविक प्रक्रिया भए पनि पर्याप्त ज्ञान, सचेतना र सही अभ्यासको अभावका कारण धेरै महिला तथा किशोरीहरू शारीरिक र मानसिक समस्याबाट प्रभावित हुने गरेको विषयमा विशेष चर्चा गरिएको थियो।

    कलेजका प्राचार्य किशु शर्माले महिनावारीसम्बन्धी भ्रम, गलत धारणा तथा सामाजिक संकोच हटाउन यस्ता सचेतनामूलक कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। उहाँले सही जानकारी र सकारात्मक सोचको विकासमार्फत महिला स्वास्थ्य प्रवर्द्धनमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

    कार्यक्रममा कलेजका शिक्षक, कर्मचारी तथा बीएचएम र एमबीएका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको संयोजन एलिजा बज्राचार्यले गर्नुभएको थियो भने सञ्चालन समिता जीसीले गर्नुभएको थियो।

    वेस्टर्न मेगा कलेजमा स्नातक तहअन्तर्गत चारवर्षे BIT र BHM तथा स्नातकोत्तर तहमा दुईवर्षे MBA कार्यक्रम सञ्चालनमा रहेको र शैक्षिक सत्र २०८३ का लागि भर्ना खुला भएको जानकारी समेत गराइएको थियो।



    lumbinisanjal   
  • २०८३ जेष्ठ २०, बुधबार १७:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP