• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    भिजन लुम्बिनीको आईपीओ निष्कासन प्रक्रिया अघि बढ्यो, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

    • lumbinisanjal
    • २०८३ कार्तिक २१, शुक्रबार ०८:०९
    273
    SHARES
    भिजन लुम्बिनीको आईपीओ निष्कासन प्रक्रिया अघि बढ्यो, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

    बुटवल । भिजन लुम्बिनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ। आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

    यससम्बन्धी सम्झौतामा भिजन लुम्बिनी लिमिटेडका अध्यक्ष जगतबहादुर पोखरेल र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले औपचारिक कार्यक्रममा हस्ताक्षर गरेका छन्।

    कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत अर्थात् १२ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने तयारी गरेको जनाएको छ। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा शेयर जारी गर्ने कम्पनीको योजना छ।

    लगानीका नयाँ अवसरदेखि पुँजी निर्माणसम्मको लक्ष्य

    भिजन लुम्बिनी लिमिटेड उत्पादनशील तथा सम्भावनायुक्त क्षेत्रमा लगानी विस्तार गर्ने उद्देश्यसहित अघि बढिरहेको सार्वजनिक लगानीमूलक कम्पनी हो। कम्पनीले ऊर्जा, यातायात, सञ्चार, कृषि, पर्यटन, सूचना प्रविधि तथा खनिज उत्खननलगायतका क्षेत्रमा लगानीका अवसर पहिचान, अध्ययन, विश्लेषण र प्रवर्द्धन गर्दै आएको छ।

    स्वदेशी पुँजी र स्रोतसाधनको प्रभावकारी परिचालन गर्दै नयाँ लगानीका सम्भावना खोजी गर्नुका साथै राष्ट्रिय अर्थतन्त्रलाई सबल र आत्मनिर्भर बनाउने लक्ष्य कम्पनीले लिएको छ। दीर्घकालीन लगानी रणनीति, व्यावसायिक व्यवस्थापन र आधुनिक प्रविधिलाई प्राथमिकतामा राख्दै आएको कम्पनीले विशेषगरी जलविद्युत् तथा नवीकरणीय ऊर्जा, कृषि र अन्य उत्पादनशील क्षेत्रमा लगानी गर्दै आएको जनाएको छ।

    आगामी दिनमा नयाँ तथा सम्भावनायुक्त परियोजनामा लगानी विस्तार गर्दै राष्ट्रिय पुँजी निर्माण, रोजगारी सिर्जना र नेपालको आर्थिक विकासमा थप योगदान पुर्‍याउने कम्पनीको लक्ष्य रहेको छ।

    भिजन लुम्बिनीको आईपीओ निष्कासन प्रक्रिया अघि बढेसँगै सर्वसाधारणलाई कम्पनीको लगानी यात्रामा सहभागी हुने अवसर खुल्ने अपेक्षा गरिएको छ।



    lumbinisanjal   
  • २०८३ कार्तिक २१, शुक्रबार ०८:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP