• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    कांग्रेस रुपन्देही–२ (ख) को नयाँ नेतृत्वको पदस्थापन, युवामाथि पार्टी सुदृढीकरणको जिम्मेवारी

    • lumbinisanjal
    • २०८३ कार्तिक २१, शुक्रबार १४:०१
    247
    SHARES
    कांग्रेस रुपन्देही–२ (ख) को नयाँ नेतृत्वको पदस्थापन, युवामाथि पार्टी सुदृढीकरणको जिम्मेवारी

    अग्रजको अनुभव र युवाको ऊर्जालाई समेटेर अघि बढ्न नेताहरूको जोड

    बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न रुपन्देही क्षेत्र नम्बर २ (ख) को अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ।

    नवनिर्वाचित सभापति रविन्द्रमान श्रेष्ठको सभापतित्व तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य बालकुमारी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन गराउनुका साथै महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिहरूलाई सम्मान गरिएको थियो।

    कार्यक्रममा प्रमुख अतिथि भण्डारीले १५औँ महाधिवेशनपछि पार्टीलाई थप सुदृढ र गतिशील बनाउने जिम्मेवारी नयाँ पुस्ताको काँधमा आएको बताउनुभयो। पार्टीको नेतृत्वमा ४० प्रतिशतभन्दा बढी युवा आएको दाबी गर्दै उहाँले युवाको ऊर्जा र अग्रजहरूको अनुभवलाई एकसाथ जोडेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

    उहाँले अग्रज नेताहरूको योगदानको कदर गर्दै उहाँहरूको अनुभवलाई सम्मान र आत्मसात गर्नु नै पार्टीलाई एकताबद्ध तथा बलियो बनाउने आधार भएको उल्लेख गर्नुभयो।

    नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य रामबहादुर कार्कीले पार्टीभित्र कसैलाई काखा र कसैलाई पाखा नगरी सबैलाई समेटेर अघि बढ्नुपर्ने बताउनुभयो। पार्टीलाई एकढिक्का बनाउन सके संगठनसँगै लोकतन्त्र पनि थप बलियो हुने उल्लेख गर्दै उहाँले गाउँगाउँ, टोलटोल र सहरसम्म संगठन विस्तारमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो।

    त्यस्तै, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवन श्रेष्ठले कांग्रेस स्थापनाकालदेखि नै आम जनताको भरोसाको पार्टीका रूपमा स्थापित रहेको उल्लेख गर्दै जनताको विश्वास र अपेक्षालाई केन्द्रमा राखेर अघि बढ्न कार्यकर्तालाई आग्रह गर्नुभयो।

    कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका कोषाध्यक्ष प्रकाश राना, महाधिवेशन प्रतिनिधि दीर्घकुमार केसी, रुपन्देही–२ का क्षेत्रीय सभापति प्रजापाल गिरी, क्षेत्र नम्बर २ (क) का सभापति जोवनसिंह ठकुरी तथा बुटवल उपमहानगरपालिकाका निवर्तमान सभापति खेलराज पाण्डेयलगायतले पार्टीले अब अवलम्बन गर्नुपर्ने राजनीतिक दिशा, संगठन सुदृढीकरण र नेता–कार्यकर्ताको भूमिकाबारे धारणा राख्नुभएको थियो।

    कार्यक्रमले नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्नुका साथै पार्टीभित्र पुस्तान्तरण, एकता र संगठन निर्माणलाई थप प्रभावकारी बनाउने सन्देश दिएको छ।



    lumbinisanjal   
  • २०८३ कार्तिक २१, शुक्रबार १४:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP