• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    नेतृत्व परिवर्तनको सङ्घारमा नेपाली काँग्रेस : विशेष महाधिवेशनको ऐतिहासिक घडी

    • lumbinisanjal
    • २०८२ पुष २६, शनिबार २१:३८
    3.5K
    SHARES
    नेतृत्व परिवर्तनको सङ्घारमा नेपाली काँग्रेस : विशेष महाधिवेशनको ऐतिहासिक घडी

    ✍️विशाल भण्डारी
    राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई आफ्नो मूल मन्त्र मानेर विभिन्न कालखण्डमा पार्टीको गरिमा जोगाउँदै आएको नेपालको सबैभन्दा ठूलो पार्टी नेपाली काँग्रेसले आज विशेष महाधिवेशनको शंखघोष गरिरहेको सन्दर्भमा काँग्रेसप्रति आस्था राख्ने कार्यकर्ता र शुभचिन्तकहरूमा उत्साह र आशा देखिएको छ।

    ऐतिहासिक कालखण्डदेखि नै आफ्नो वर्चस्व कायम राख्दै आएको नेपाली काँग्रेसले हरेक परिस्थितिमा देश र जनताको सारथी बनेर भूमिका निर्वाह गर्दै आएको तथ्य सर्वविदित छ। नेपालमा भएका हरेक परिवर्तन, आन्दोलन र राजनीतिक संघर्षको अग्रपंक्तिमा उभिएर नेतृत्व प्रदान गरेको काँग्रेसले देशले भोगेका संकटहरूमा समन्वयात्मक भूमिका खेल्दै विकास र निकासमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। वि.सं. २००७ सालदेखि २०८२ सालसम्मका राजनीतिक घटनाक्रममा नेपाली काँग्रेस निरन्तर अग्रपंक्तिमै देखिँदै आएको छ।

    पार्टीको विधान, सम्पूर्ण कार्यकर्ता तथा शुभचिन्तकहरूको चाहनाअनुसार नेतृत्व परिवर्तनको पक्षमा उभिँदै विशेष महाधिवेशनतर्फ उन्मुख भएको नेपाली काँग्रेस अहिले निर्णायक मोडमा पुगेको देखिन्छ। एकातिर युवा पुस्ता नेतृत्व परिवर्तनको मागसहित विशेष महाधिवेशनको पक्षमा खुलेर उभिएको छ भने अर्कोतिर पद र शक्ति गुम्ने भयले केही पुराना नेताहरू महाधिवेशन हुन नदिन अनेक बहाना र नारामा उत्रिएको देखिन्छ।

    विगतमा नेतृत्व परिवर्तनका मुख्य पक्षधर मानिने शेरबहादुर देउवा अहिले नेतृत्व हस्तान्तरणप्रति इच्छुक नदेखिनु पार्टीभित्र गम्भीर बहसको विषय बनेको छ। औपचारिक रूपमा जिम्मेवारी सुम्पिएजस्तो देखिए पनि पार्टीभित्र देउवाको प्रभाव र दबाब अझै कायम छ। यसैबीच गगन थापा र विश्वप्रकाश शर्माले खुलेर नेतृत्व परिवर्तनको शंखघोष गरिरहेका छन्, र युवापंक्ति उनीहरूलाई पछ्याउँदै अघि बढिरहेको छ। आम काँग्रेस कार्यकर्ता र शुभचिन्तकहरूको भावना पनि स्पष्ट छ—अब नेतृत्व परिवर्तन आवश्यक छ ।

    आशा र भरोसाका रूपमा उभिएका गगन र विश्वको नेतृत्वमा काँग्रेसलाई हेर्न चाहने चाहना पार्टीभित्र मात्र होइन, अन्य राजनीतिक दलका कार्यकर्ताहरूमा समेत देखिन्छ। विशेष महाधिवेशनको यो दौडमा उनीहरूले विजय हासिल गर्न सके सम्पूर्ण शुभचिन्तकहरू हर्षित हुनेछन्। नेतृत्व परिवर्तनपछि नेपाली काँग्रेस पुनः आफ्नो पुरानो लयमा फर्किएर पार्टी सुदृढीकरण गर्दै “प्रजातान्त्रिक पार्टी भनेको यस्तो हुनुपर्छ” भन्ने उदाहरण स्थापित गर्न सक्षम हुनेछ।

    सच्चा नेपाली काँग्रेसका कार्यकर्ता र शुभचिन्तकहरू काँग्रेसलाई बलियो देख्न र सुन्न चाहन्छन्, र त्यसका लागि नेतृत्व परिवर्तन अपरिहार्य छ। हिजो नेतृत्व परिवर्तनका लागि भएका संघर्ष र बलिदानलाई सार्थक बनाउँदै पार्टीलाई मजबुत बनाउनु आजको आवश्यकता हो। युवा पुस्ताको स्पष्ट चाहना छ—युवा रहेन भने पार्टी बलियो हुँदैन। पार्टीभित्र युवाको उपस्थिति कमजोर हुँदै गयो भने काँग्रेस पनि क्रमशः कमजोर बन्दै जानेछ।

    यसकारण, शेरबहादुर देउवाले पुनः एकपटक नायकको भूमिका निर्वाह गर्दै नेतृत्व युवालाई हस्तान्तरण गर्न सक्नुपर्छ। यदि त्यसो गर्न सके भने देउवा सधैं ‘शेर’कै रूपमा स्मरण गरिनेछन्। परिवर्तनको हुटहुटीमा रहेका आम युवालाई काँग्रेसप्रति आकर्षित गराउन पनि नेतृत्व परिवर्तन अपरिहार्य छ।

    काँग्रेसका लोकप्रिय महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा जुटेको यो ऐतिहासिक अवसरमा गुट–उपगुट त्यागेर सम्पूर्ण काँग्रेस कार्यकर्ता र शुभचिन्तकहरू एकजुट भई नेतृत्व परिवर्तनको बाटो खोलिदिनेछन् भन्ने अपेक्षासहित विशेष महाधिवेशनको सफलताको कामना ।



    lumbinisanjal   
  • २०८२ पुष २६, शनिबार २१:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP