• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    रुपन्देहीमा तामाङ समुदायले माघ ५ गते सोनाम ल्होसार भव्य रुपमा मनाउँदै

    • lumbinisanjal
    • २०८२ पुष २८, सोमबार १७:२८
    1.5K
    SHARES
    रुपन्देहीमा तामाङ समुदायले माघ ५ गते सोनाम ल्होसार भव्य रुपमा मनाउँदै

    बुटवल, २८ पुस । रुपन्देहीमा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो मौलिक सांस्कृतिक पर्व सोनाम ल्होसार विविध कार्यक्रमसहित मनाउने भएका छन् । सर्प वर्गको बिदाइ गर्दै ता–ल्हो (घोडा वर्ग) मा प्रवेशको अवसरमा मनाइने तामाङ नयाँ वर्ष २८६२ औँ सोनाम ल्होसार नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति रुपन्देहीको आयोजनामा माघ ५ गते देवदह नगरपालिका– १०  चरङे स्थित तामाङ गुम्बामा मनाइने भएको हो ।

    सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष राजेश लामा (घिसिङ) ले विगतका वर्षहरूझैँ यस वर्ष पनि सोनाम ल्होसारको दिन बिहानै तामाङ भेषभूषासहित झाँकीसहित चरङे बजार परिक्रमा, ¥याली, पूजा तथा सांस्कृतिक कार्यक्रम गरिने जानकारी दिए । रुपन्देहीमा छरिएर रहेका तामाङ समुदायलाई एकताबद्ध गर्दै संस्कृति संरक्षण र सामाजिक उत्तरदायित्वमा संस्था क्रियाशील रहेको उहाँको भनाइ थियो । सोनाम ल्होसार विश्वभर मनाईदै आएको उनले बताए ।

    कार्यक्रमका युवा संयोजक हसन्त लामाले आदिवासी जनजाति समुदायभित्र सांस्कृतिक रूपमा धनी तामाङहरू अन्य जिल्लाबाट आएर रुपन्देहीमा बसोबास गरिरहेको बताउँदै संख्या सानो भए पनि भावनात्मक रूपमा सबै जातजातिसँग मिलेर बस्दै आएको उल्लेख गरे । देवदह नगरपालिका–चरङे स्थित तामाङ गुम्बाको जग्गा प्राप्तिमा विगतदेखि नै कठिनाइ भइरहेको भन्दै उहाँले राज्यले सबै जातजातिलाई समान दृष्टिकोणले हेर्नुपर्ने माग गरे ।

    कार्यक्रममा नेपाल तामाङ घेदुङ केन्द्रीय सदस्य वीरबहादुर घिसिङ लामाले जिल्लाभित्रका विभिन्न इकाइको समन्वयमा फरक–फरक स्थानमा ल्होसार मनाइँदै आएको बताउँदै यस वर्ष चरङे इकाइको आग्रहमा जिल्लाभरिका तामाङ समुदाय एकै स्थानमा भेला भएर पर्व मनाइने जानकारी दिए । 

    कार्यक्रममा लुम्बिनी प्रदेश अध्यक्ष वीरमान लामा, पूर्वअध्यक्ष कृष्णबहादुर मोक्तान तथा देवदह नगरपालिका चरङे समितिका अध्यक्ष निर्दोष घलानले ल्होसार तयारीबारे धारणा राख्नुभएको थियो । हाल रुपन्देही जिल्लामा तामाङ समुदायका १३५ घरधुरी रहेको समितिका सचिव शम्भु मोक्तानले जानकारी दिए ।



    lumbinisanjal   
  • २०८२ पुष २८, सोमबार १७:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP