• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    अमेरिकामा नेपाली परिवारभित्र विभत्स हत्या: श्रीमती र छोरी मार्नेमाथि गोली प्रहार, एक शिशु सुरक्षित

    • lumbinisanjal
    • २०८२ फाल्गुन १२, मंगलवार ११:०९
    1.2K
    SHARES
    अमेरिकामा नेपाली परिवारभित्र विभत्स हत्या: श्रीमती र छोरी मार्नेमाथि गोली प्रहार, एक शिशु सुरक्षित

    भर्जिनियामा आफ्नै परिवार सिध्याउने छत्रबहादुरको मृत्यु

    काठमाडौं ,१२ फागुन । अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा एक नेपाली परिवारभित्र विभत्स हत्याकाण्ड भएको छ । ५० वर्षीय छत्रबहादुर थापाले आफ्नै श्रीमती र छोरीको १० इन्च लामो धारिलो हतियार प्रहार गरी हत्या गरेको सार्वजनिक भएको हो ।

    भर्जिनिया पर्सिमोन ड्राइभस्थित अपार्टमेन्टमा घरेलु हिंसा भइरहेको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो । फेयरफ्याक्स काउन्टीका प्रहरी प्रमुख केभिन डेभिसले उक्त दृश्यलाई “कल्पनाबाहिरको विभत्स र भयावह” भनेको खसोखासले खबरमा लेखेको छ ।

    घटना हुँदा छत्रबहादुरका ज्वाइँ ३५ वर्षीय सन्तोषकुमार बस्नेत घरबाहिर कारबाट हिउँ पन्छाउँदै थिए । भित्र चिच्याएको आवाज सुनेर ९११ मा फोन गर्दै उनी घर पस्दा आफ्नी ३१ वर्षीया श्रीमती ममता थापा र ५१ वर्षीया सासू बिन्दा थापालाई रक्ताम्मे अवस्थामा फेला पारेका थिए । श्रीमती र सासूको हत्या गरिसकेका छत्रबहादुरले त्यसपछि सन्तोषमाथि पनि अन्धाधुन्ध आक्रमण सुरु गरेका थिए ।

    प्रहरी घटनास्थल पुग्दा छत्रबहादुरले सन्तोषमाथि प्रहार गरिरहेको अवस्थामा फेला पारेको थियो । प्रहरीले पटक–पटक हतियार फाल्न दिएको आदेश नमानेपछि एक अधिकारीले चलाएको गोली लागेर आक्रमणकारी छत्रबहादुरको घटनास्थलमै मृत्यु भएको हो । आक्रमणमा परी बिन्दा र ममताको ज्यान गएको छ भने गम्भीर घाइते सन्तोषको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

    उक्त घरमा रहेका एक वर्षीय शिशु भने सुरक्षित रहेको खबरमा उल्लेख छ । अनुसन्धानका क्रममा यो परिवारको यसअघि कुनै आपराधिक पृष्ठभूमि वा प्रहरीमा उजुरी नभएको पाइएको छ । आफ्नै परिवारका सदस्यहरूको ज्यान लिने गरी भएको हिंसाको वास्तविक कारणबारे स्थानीय प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।



    lumbinisanjal   
  • २०८२ फाल्गुन १२, मंगलवार ११:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP