• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    नारायणगढ–बुटवल सडकखण्ड: आवागमन बन्द गरेर काम गरिने

    • lumbinisanjal
    • २०८१ चैत्र २४, आईतवार ०२:५५
    4.6K
    SHARES
    नारायणगढ–बुटवल सडकखण्ड: आवागमन बन्द गरेर काम गरिने

    बुटवल ,२४ चैत । बुटवल सडकखण्ड अन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि सवारी आवागमन बन्द गरिने भएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिमका सरोकारवालाको शनिबार दाउन्नेमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

    दाउन्ने क्षेत्रमा यही चैत २७ गतेदेखि चैत ३१ गतेसम्म बिहान ११ः०० देखि दिउँसो ३ः०० बजेसम्म तथा २०८२ वैशाख १ गतेदेखि वैशाख १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेकका सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गर्ने निर्णय गरिएको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले जानकारी दिए ।

    नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिमका जिल्ला समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारी, बर्दघाट नगरपालिका प्रमुख, विनयी त्रिवेणी गाउँपालिका प्रमुख, दुवै योजनाका योजना प्रमुख, योजनाको परामर्शदाता, निर्माण व्यवसायी एवं सुरक्षा निकायका प्रमुखसमेतको संयुक्त बैठकले दाउन्ने सडक दैनिक केही घण्टा बन्द गरेर भए पनि निर्माणमा तीव्रता दिने निर्णय गरेको हो ।

    नारायणगढ–बुटवल सडकखण्डको अन्य क्षेत्रमा धमाधम कालोपत्र गरिए पनि दाउन्ने क्षेत्रमा भने उबड–खाबड सडक, साँघुरा घुम्ती, निर्माणका लागि बनाइएका अस्थायी डाइभर्सन र धुलाम्मे बाटोले यात्रालाई कष्टकर बनाएको छ । सडक विस्तारका क्रममा भत्काइएका संरचना समयमै पुनर्निर्माण नहुँदा यात्रु दिनहुँ कष्ट भोग्न बाध्य छन् ।

    अहिले दाउन्ने खण्डमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए । नारायणगढ–बुटवल सडकको ११४ किलोमिटरअन्तर्गत गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित छ र जोखिम बढिरहेको क्षेत्र मानिने दाउन्नेको १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तारको काम भइरहेको छ ।

    १७ अर्ब रुपैयाँको लागतमा सडक निर्माणको काम भइरहेको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि तेस्रोपटक २०८२ साउनसम्मका लागि म्याद थप गरिएको छ ।



    lumbinisanjal   
  • २०८१ चैत्र २४, आईतवार ०२:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP