• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    अस्पताल लाइनमा नक्कली औषधीको धन्दा : सैनामैना फार्मेसीमा प्रहरीको छापा

    • lumbinisanjal
    • २०८३ असार १०, बुधबार १६:११
    949
    SHARES
    अस्पताल लाइनमा नक्कली औषधीको धन्दा : सैनामैना फार्मेसीमा प्रहरीको छापा

    बुटवल, १० असार । बुटवलको मुख्य व्यापारिक तथा स्वास्थ्य क्षेत्र मानिने अस्पताल लाइनमा नक्कली तथा शंकास्पद औषधीको अवैध कारोबार भइरहेको खुलासा भएको छ।

    अस्पताल लाइनमा सञ्चालित सैनामैना फार्मेसीका सञ्चालक विष्णु जिसीले प्रतिबन्धित तथा नक्कली औषधी बिक्री वितरण गरिरहेको पुष्टि भएपछि प्रहरीले छापा मारी पक्राउ गरेको हो।

    मानव स्वास्थ्यजस्तो अत्यन्त संवेदनशील विषयमा खेलबाड गर्दै अवैध कारोबार सञ्चालन भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलको टोलीले उक्त फार्मेसी र त्यससँग सम्बन्धित गोदाममा आकस्मिक छापा मारेको थियो।

    प्रहरीका अनुसार पक्राउ परेका व्यवसायीले उपभोक्ता तथा बिरामीका आफन्तलाई आकर्षित गर्न बजार मूल्यभन्दा निकै कम दरमा औषधी बिक्री गर्दै आएका थिए। बजारमा महँगो पर्ने औषधीहरू अस्वाभाविक रूपमा सस्तो मूल्यमा उपलब्ध गराएर लामो समयदेखि सेवाग्राहीलाई झुक्याउने काम भइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

    बिरामीका आफन्तले सस्तो पाउने लोभमा त्यहाँबाट औषधी खरिद गर्ने गरेको र त्यही आडमा नक्कली औषधीको ठूलो सञ्जाल सञ्चालन भइरहेको सूचनाका आधारमा छापा मारिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले बताए।

    उनका अनुसार औषधीको शंकास्पद मूल्य र व्यापारिक शैलीबारे पटक–पटक गुनासा आएपछि प्रहरीले उक्त फार्मेसीलाई केही समयदेखि विशेष निगरानीमा राखेको थियो।

    छापा मार्ने क्रममा Seroflo 250 Rotacaps नामक श्वासप्रश्वाससम्बन्धी औषधि बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त औषधि मुख्यतः दम (Asthma) तथा क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज (COPD) का बिरामीलाई सास फेर्न सहज बनाउन प्रयोग गरिन्छ। प्रहरीले फार्मेसी तथा गोदामबाट विभिन्न प्रकारका शंकास्पद औषधी र स्वास्थ्यसम्बन्धी उत्पादनहरू बरामद गरेको जनाएको छ। बरामद सामग्रीमध्ये कतिपय महँगा औषधीका साथै बिरामी तथा उपभोक्तालाई लक्षित गरी बिक्री गरिने फुड सप्लिमेन्ट (पोषण पूरक) उत्पादनहरू समेत रहेका छन्। ती उत्पादनहरूको गुणस्तर, स्रोत र वैधानिकताबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    बरामद गरिएका कतिपय औषधीहरूको वैध आयात वा आधिकारिक खरिद बिलसमेत फेला नपरेपछि ती औषधी कहाँबाट र कसरी बुटवलसम्म आइपुगे भन्ने विषयमा गम्भीर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रहरीले पक्राउ परेका औषधी व्यवसायीमाथि औषधि ऐन तथा जनस्वास्थ्यविरुद्धको कसुर अन्तर्गत कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ। साथै बरामद गरिएका औषधीहरूको वास्तविक गुणस्तर र रासायनिक अवस्था परीक्षणका लागि प्रयोगशालामा पठाउने तयारी भइरहेको छ।

    अस्पतालहरूले घेरिएको संवेदनशील क्षेत्रमा यस प्रकारको घातक धन्दा सञ्चालन भएको घटनाले बुटवलको समग्र औषधि व्यवसायमाथि नै गम्भीर प्रश्न उठाएको छ। स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको क्षेत्रमा नियमन र अनुगमन अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता यस घटनाले औँल्याएको छ।



    lumbinisanjal   
  • २०८३ असार १०, बुधबार १६:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP