• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    अर्थमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको स्थलगत निरीक्षण

    • lumbinisanjal
    • २०८२ असार २२, आईतवार १३:३१
    5.6K
    SHARES
    अर्थमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको स्थलगत निरीक्षण

    बुटवल ,२२ असार । लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधिन भवनको प्रगति बारे बुझ्न उप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आइतबार स्थलगत निरीक्षण गरेका छन् ।

    अर्थमन्त्री पौडेलले निर्माणस्थलको अध्ययनसँगै हालसम्म भएका प्रगति विवरण बारे पूर्वाधार बिकास प्राधिकरण लुम्बिनी प्रदेशका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर छवि पोखरेलसँग जानकारी लिएका छन् ।

    सो अवसरमा कार्यकारी अधिकृत पोखरेलले निर्धारित समयभन्दा १ वर्षअघि नै योजना सम्पन्न गर्ने प्रतिवद्धा गरेका छन् । ‘कुनै आर्थिक संकट वा ठूलो विपत्ती आइपरेन भने ५ वर्षमा सक्नुपर्ने काम हामीले ४ वर्षमै सम्पन्न गर्छौ ।’–पोखरेलले भने । अर्थमन्त्री पौडेलले प्रतिवद्धता अनुसार काम पूरा गरेर देखाउन आग्रह गरे ।

    मुलुकमै सबैभन्दा ठूलो र अत्याधुनिक सुविधासहितको सरकारी अस्पताल बन्ने उद्देश्यसाथ निर्माण भइरहेको प्रादेशिक अस्पतालको भवन निर्माणमा २६ प्रतिशत बढी प्रगति भएको छ । मुख्य संरचना बेसमेन्टसम्म तयार, क्यान्सर भवनको ढलान सम्पन्न भइसकेको छ ।

    हाल अस्पतालको मुख्य भवनको दायाँ, बायाँ र बिच भागमा बेसमेन्टको काम सम्पन्न भइसकेको प्राधिकरणका साइट इन्चार्ज शंकर सुवेदीले जानकारी गराए । दोस्रो बेसमेन्ट र लेफ्ट विङको पहिलो बेसमेन्टको ढलान सकिएको उनले जानकारी दिए । त्यस्तै, क्यान्सर उपचार भवनको ¥याफ्ट फाउण्डेसनको ढलानसमेत पूरा भइसकेको बताए ।

    अस्पतालको स्थलगत निरीक्षणमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरी, पूर्व स्वास्थ्यमन्त्री तथा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, नेकपा एमाले बोलिट व्युरो सदस्य दधिराम न्यौपाने, एमाले लुम्बिनी प्रदेश सदस्य गोपाल राना लगायतको उपस्थिती रहेको थियो । यसैगरी अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठ, अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकाल लगायत अस्पताल परिवारले अर्थमन्त्री पौडेलसहितको अनुगमन टोलीलाई स्वागत गरेको थियो ।

    लुम्बिनी प्रदेश सरकारको गौरव आयोजनाको रुपमा रहेको अस्पताल भवन निर्माणका लागि दुई भवन, उपकरण र आन्तरिक व्यवस्थापनसहितका लागि आठ अर्ब ९९ करोड ७५ लाख ६४ हजार १९९ रुपियाँ रहने अनुमान गरेको छ ।

    भवन निर्माणको जिम्मा भारतीय कम्पनी क्याम्पासाइट र नेपाली कम्पनीहरू आशिष कन्स्ट्रक्सन र रेलिगेर सम्मिलित संयुक्त संस्थालाई दिइएको छ । वि.सं.२०८० पुस २६ गते सम्झौता भई माघ १८ गतेदेखि निर्माण कार्य प्रारम्भ गरिएको हो ।

    प्राधिकरणका साइट इन्जिनियर सुवेदीले पाँच वर्षको म्याद (२०८५ पुस २५) भित्र ६ अर्ब १८ करोड रुपियाँमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको बताए ।

    उनका अनुसार नयाँ भवन १२ तलाको हुनेछ । तल्लो दुई तलामा व्यवस्थित पार्किङ, अगाडि भागमा ओपिडी, आपतकालीन सेवा (इमर्जेन्सी), इन्डोर सर्भिस कक्ष, माथिल्ला तलामा १२ सय बेडसहितको उपचार सेवा रहने गरी भवनको डिजाइन भएको छ । अहिले सोहीअनुरुपको निर्माण कार्य भइरहेको छ ।

     



    lumbinisanjal   
  • २०८२ असार २२, आईतवार १३:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP