• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    नारी दिवसको अवसरमा धुर्कोटमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    • lumbinisanjal
    • २०८१ फाल्गुन २४, शनिबार १३:३४
    3K
    SHARES
    नारी दिवसको अवसरमा धुर्कोटमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    गुल्मी , २४ फाल्गुन । ११५औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा धुर्कोट गाउँपालिकाले ‘समाजको विकासमा महिलाको भूमिका’ विषयमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ।

    प्रतियोगितामा गाउँपालिकाका शिक्षिका तथा महिला स्वास्थ्यकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
    प्रतियोगितामा गणेश माध्यमिक विद्यालय, पिपलधाराकी शिक्षिका सपना महत्रा प्रथम, फूलबारी प्राथमिक विद्यालय, जैसिथोककी शिक्षिका विष्णु राना द्वितीय, सोमरभोमर माध्यमिक विद्यालय, हाडहाडेकी शिक्षिका दीपा लम्साल तृतीय र जैसिथोककी महिला स्वास्थ्य स्वयंसेविका विमला खनाल सान्त्वना भएको महिला तथा बालविकास शाखा प्रमुख सुजता गिरीले जानकारी दिइन्।

    कार्यक्रममा धुर्कोट गाउँपालिका उपाध्यक्ष सीता गिरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष भूपाल पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो। त्यसैगरी, धुर्कोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थी , वडा नम्बर ४ का वडा अध्यक्ष वीरबहादुर जोगी कुँवर, कार्यपालिका सदस्यहरू, विभिन्न वडाका वडा सदस्यहरू, संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरू, पत्रकार तथा सुरक्षाकर्मीहरूको  उपस्थिति रहेको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष एवम प्रमुख अतिथि भूपाल पोखरेलले समाजको समृद्धि र विकासमा महिलाको योगदान अपरिहार्य रहेको उल्लेख गरे। उनले शिक्षा, स्वास्थ्य, नेतृत्व, उद्यमशीलता तथा सामाजिक परिवर्तनका क्षेत्रमा महिलाको सक्रिय भूमिका समाज परिवर्तनको आधारशिला भएको बताउँदै, महिलाहरू अब चुलोचौकासम्म सीमित नरही हरेक क्षेत्रमा अगाडि बढिरहेकोमा प्रशंसा व्यक्त गरे।

    कार्यक्रमकी अध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष सीता गिरीले समापन मन्तव्य दिँदै महिलाहरू केवल पारिवारिक जिम्मेवारीमा सीमित नभई समाज, राजनीति, अर्थतन्त्र र नीति निर्माण तहसम्म निर्णायक भूमिकामा पुग्नुपर्ने धारणा व्यक्त गरिन्। उनले इतिहास साक्षी रहेको भन्दै महिलाले घर मात्र होइन, देशसमेत चलाएको उल्लेख गर्दै, नारी सशक्तीकरणका लागि सबै क्षेत्रबाट सहकार्य आवश्यक रहेकोमा जोड दिइन्।

    कार्यक्रममा कार्यपालिका सदस्य गोमिता नेपालीले स्वागत मन्तव्य दिइन् भने कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख सुजता गिरीले गरेकी थिइन्।



    lumbinisanjal   
  • २०८१ फाल्गुन २४, शनिबार १३:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP