• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    विश्व वातावरण दिवसमा रन्यौरा प्रहरी परिसर हराभरा : सैनामैना जेसीजद्वारा वृक्षारोपण

    • lumbinisanjal
    • २०८३ जेष्ठ २२, शुक्रबार १५:३७
    156
    SHARES
    विश्व वातावरण दिवसमा रन्यौरा प्रहरी परिसर हराभरा : सैनामैना जेसीजद्वारा वृक्षारोपण

    सुरेश परियार / सैनामैना, २२ जेठ । विश्व वातावरण दिवसको अवसरमा ईलाका प्रहरी कार्यालय रन्यौरा, सैनामैनाको परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। सैनामैना जेसीजको आयोजनामा तथा ईलाका प्रहरी कार्यालय रन्यौराको समन्वयमा विविध प्रजातिका बिरुवा रोपेर वातावरण संरक्षणप्रति सामूहिक प्रतिबद्धता व्यक्त गरिएको हो।

    सैनामैना जेसीज वर्ष २०२६ का अध्यक्ष गोपाल भण्डारीले “एक घर, एक बिरुवा” अभियानलाई व्यवहारमा उतार्न आवश्यक रहेको बताउँदै वातावरण संरक्षण तथा सामाजिक उत्तरदायित्वका कार्यमा सैनामैना जेसीज सदैव अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे।

    कार्यक्रमलाई सम्बोधन गर्दै ईलाका प्रहरी कार्यालय रन्यौराका प्रमुख तथा प्रहरी निरीक्षक प्रल्हाद केसीले प्रहरी कार्यालयलाई स्वच्छ, हराभरा र वातावरणमैत्री बनाउने अभियानमा जेसीजले पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताए। उनले समुदाय, प्रहरी र विभिन्न संघसंस्थाबीच सहकार्यलाई अझ मजबुत बनाउँदै लैजान आफूहरू सधैं तयार रहेको उल्लेख गरे।

    कार्यक्रममा सैनामैना जेसीजका संस्थापक अध्यक्ष रामप्रसाद अधिकारी, पूर्व अध्यक्षद्वय नन्दु थापा र गोविन्द खरेल, प्रहरी कर्मचारी तथा जेसीजका पदाधिकारी एवं कार्यसमिति सदस्यहरूको उल्लेख्य सहभागिता रहेको जेसीजका उपाध्यक्ष हर्षित गौतमले जानकारी दिए।

    “हरियाली संरक्षण, स्वच्छ वातावरण निर्माण” भन्ने सन्देशसहित सम्पन्न कार्यक्रमले वातावरण संरक्षणप्रति समुदायको चासो र जिम्मेवारीलाई थप बलियो बनाएको सहभागीहरूले बताएका छन्।



    lumbinisanjal   
  • २०८३ जेष्ठ २२, शुक्रबार १५:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP