• २०८३ भाद्र ९ | Tue, 25 Aug 2026
  • Dark Mode

          Subscribe

    गर्भवती महिलाका लागि सिद्धार्थनगर सिटी हस्पिटलको निःशुल्क स्वास्थ्य सेवा

    • lumbinisanjal
    • २०८३ भाद्र ९, मंगलवार १२:१३
    52
    SHARES
    गर्भवती महिलाका लागि सिद्धार्थनगर सिटी हस्पिटलको निःशुल्क स्वास्थ्य सेवा

    भैरहवा । गर्भवती महिला तथा गर्भमा रहेका शिशुको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि., भैरहवाले गर्भवती महिलाका लागि निःशुल्क स्वास्थ्य परीक्षण तथा विशेषज्ञ परामर्श सेवा सुरु गरेको छ ।

    ‘सुरक्षित मातृत्वको सुरुवात, स्वस्थ आमा, स्वस्थ शिशु–हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित सुरु गरिएको अभियानअन्तर्गत गर्भवती महिलाले निःशुल्क ओपिडी जाँच, प्रसूति तथा स्त्रीरोग विशेषज्ञको परामर्श र आवश्यक एएनसी रक्त परीक्षण सेवा प्राप्त गर्ने अस्पतालले जनाएको छ ।

    अभियानअन्तर्गत वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ डा. सुरक्षा बेगमबाट दैनिक बिहान १० बजेदेखि साँझ ४ बजेसम्म गर्भवती महिलाको स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श दिइनेछ । अस्पतालमा नियमित रूपमा लाग्ने ७५० रुपैयाँको ओपिडी परामर्श शुल्कसमेत अभियान अवधिभर निःशुल्क गरिएको छ ।

    त्यस्तै, गर्भावस्थामा आवश्यक पर्ने सिबिसी, आरबिएस, थाइरोइड, भिडिआरएल, ब्लड ग्रुप तथा सेरोलोजी लगायतका एएनसी रक्त परीक्षण पनि निःशुल्क गरिने अस्पतालले जनाएको छ । नियमित रूपमा करिब ३ हजार ६५० रुपैयाँ पर्ने यी परीक्षण अभियानअन्तर्गत निःशुल्क उपलब्ध गराइएको हो ।

    चिकित्सकहरूका अनुसार गर्भावस्थामा नियमित स्वास्थ्य परीक्षणले आमाको स्वास्थ्य अवस्था र गर्भमा रहेको शिशुको अवस्थाबारे समयमै जानकारी लिन सहयोग गर्छ । एएनसी परीक्षणबाट रक्तअल्पता, रक्त समूह, मधुमेह तथा गर्भावस्थासँग सम्बन्धित सम्भावित जोखिम पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले नियमित परीक्षण आवश्यक मानिन्छ ।

    आर्थिक अवस्थाका कारण गर्भवती महिला आवश्यक स्वास्थ्य परीक्षणबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको अस्पतालको भनाइ छ । विशेषगरी आर्थिक रूपमा कमजोर तथा सामान्य परिवारका गर्भवती महिलालाई नियमित स्वास्थ्य परीक्षणका लागि प्रोत्साहित गर्ने लक्ष्य अस्पतालले लिएको छ ।

    अस्पतालले गर्भावस्थाको सुरुदेखि नै नियमित स्वास्थ्य परीक्षण गराउन, चिकित्सकको सल्लाहअनुसार आवश्यक परीक्षण तथा फलोअपलाई निरन्तरता दिन र कुनै असामान्य समस्या देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ ।
    साथै, सुरक्षित मातृत्वका लागि गर्भवती महिलाको खानपान, पर्याप्त आराम, नियमित स्वास्थ्य परीक्षण र चिकित्सकीय परामर्शमा परिवारका सदस्यको सहयोग पनि उत्तिकै आवश्यक रहेको अस्पतालले जनाएको छ ।

    सिद्धार्थनगर सिटी हस्पिटलले अभियानलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै भैरहवा तथा रुपन्देही आसपासका गर्भवती महिलालाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य राखेको जनाएको छ । निःशुल्क स्वास्थ्य परीक्षण र विशेषज्ञ परामर्शबाट गर्भवती महिलाको आर्थिक भार कम हुनुका साथै सम्भावित स्वास्थ्य जटिलताको समयमै पहिचान र उपचारमा सहयोग पुग्ने अस्पतालको अपेक्षा छ ।



    lumbinisanjal   
  • २०८३ भाद्र ९, मंगलवार १२:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP