• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    इन्धन मूल्यवृद्धिले ढुवानी व्यवसाय संकटमा : भाडा समायोजनको माग

    • lumbinisanjal
    • २०८३ बैशाख ६, आईतवार १२:१२
    494
    SHARES
    इन्धन मूल्यवृद्धिले ढुवानी व्यवसाय संकटमा : भाडा समायोजनको माग

    बुटवल, ६ बैशाख। नेपाल ट्रक यातायात व्यवसायी महासंघको लुम्बिनी प्रदेशस्तरीय ढुवानी व्यवसायीहरूको संयुक्त बैठकले मालवाहक ढुवानी व्यवसाय चरम संकटमा पुगेको निष्कर्ष निकालेको छ। बैठकले इन्धन मूल्यवृद्धिको अनुपातमा तत्काल नयाँ ढुवानी भाडा निर्धारण गरी सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।

    बैठकमा देशको समग्र आर्थिक अवस्था तथा अन्तर्राष्ट्रिय द्वन्द्वका कारण इन्धन आपूर्ति समस्या जटिल बन्दै गएको र मूल्यवृद्धिले सवारी सञ्चालनमा गम्भीर कठिनाइ सिर्जना गरेको उल्लेख गर्दै सोही अनुसार भाडा समायोजन गर्न प्रदेश र केन्द्र सरकारसमक्ष जोडदार माग गरिएको हो।

    त्यस्तै, भारतीय नम्बर प्लेटका सवारी साधनहरूलाई हाल दिइएको ७२ घण्टासम्म नेपालमा निर्वाध सञ्चालनको व्यवस्था संशोधन गरी २४ घण्टामा सीमित गर्नुपर्ने माग पनि बैठकले अघि सारेको छ। साथै, भारतीय मालवाहक सवारीलाई भन्सार विन्दुमै सामान पल्टी गराई तौलपुल निर्देशिका २०७४ अनुसार कार्यान्वयन गर्न सरकारसँग पहल गर्न आग्रह गरिएको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यामबहादुर जिसीले जानकारी दिनुभयो।

    बैठकले महासंघको नीति–नियमअनुसार सञ्चालनमा रहेका धर्मकाँटामा अनिवार्य रूपमा तौल जाँच गर्ने व्यवस्था कडाइका साथ लागू गर्ने निर्णयसमेत गरेको छ। महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष यमप्रसाद पाण्डेले बैठकका निर्णयहरू प्रभावकारी कार्यान्वयनका लागि प्रदेश तथा केन्द्र तहमा दबाब सिर्जना गर्न सम्बन्धित संघ–संस्थाहरूलाई सक्रिय हुन आग्रह गर्नुभयो।

    उक्त बैठक कपिलवस्तुको बाणगंगा यातायात व्यवसायी समितिमा प्रदेश अध्यक्ष यमप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष विष्णु प्रसाद न्यौपाने, उपाध्यक्ष विधापति उपाध्याय, कोषाध्यक्ष रुमाखर गौतम, पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यामबहादुर जिसीलगायत विभिन्न संघ–संस्थाका पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

    सोही अवसरमा पश्चिमाञ्चल यातायात व्यवसायी समितिमा हालै निर्वाचित नेतृत्वलाई सम्मानसमेत गरिएको थियो।



    lumbinisanjal   
  • २०८३ बैशाख ६, आईतवार १२:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP