• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    अफिन अध्यक्ष खड्काद्वारा बुटवल हस्पिटलको प्रशंसा, ‘काठमाडौंका धेरै हस्पिटलभन्दा सेवा–सुविधा उत्कृष्ट’

    • lumbinisanjal
    • २०८३ श्रावण ८, शुक्रबार १८:२९
    104
    SHARES
    अफिन अध्यक्ष खड्काद्वारा बुटवल हस्पिटलको प्रशंसा, ‘काठमाडौंका धेरै हस्पिटलभन्दा सेवा–सुविधा उत्कृष्ट’

    बुटवल । एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) का केन्द्रीय अध्यक्ष पदमबहादुर खड्काले निजी स्वास्थ्य संस्थाहरू सरकारका भरोसायोग्य साझेदार भएको उल्लेख गर्दै उनीहरूप्रति समान नीति र व्यवहार अपनाउन सरकारसँग आग्रह गरेका छन्।

    अफिन लुम्बिनी प्रदेशको अधिवेशनका क्रममा बुटवल आएका अध्यक्ष खड्काले बुटवल हस्पिटल प्रा.लि.को अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै हस्पिटलको सेवा, व्यवस्थापन र भौतिक पूर्वाधारको खुलेर प्रशंसा गरे। उनले बुटवल हस्पिटलले सरकारी अस्पतालको तुलनामा अझ व्यवस्थित र सुविधासम्पन्न सेवा प्रदान गरिरहेको उल्लेख गर्दै काठमाडौंका धेरै अस्पतालभन्दा पनि यहाँको सेवा–सुविधा र भौतिक संरचना उत्कृष्ट रहेको बताए।

    खड्काले निजी स्वास्थ्य संस्थाहरूले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुर्‍याइरहेको भन्दै सरकारले निजी क्षेत्रलाई विभेद नगरी सहकार्यको भावनासहित अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।

    अवलोकनका क्रममा बुटवल हस्पिटल प्रा.लि.का अध्यक्ष चुन्नु प्रसाद पौडेलले सामान्यदेखि जटिल उपचारका लागि बिरामी काठमाडौं वा अन्य सहर धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले अत्याधुनिक सेवा स्थानीयस्तरमै विस्तार गरिएको जानकारी दिए। उनले दक्ष विशेषज्ञ चिकित्सक, आधुनिक उपकरण र गुणस्तरीय सेवामार्फत सहज, भरपर्दो तथा प्रभावकारी उपचार उपलब्ध गराउने लक्ष्यका साथ हस्पिटल निरन्तर अघि बढिरहेको बताए।
    अध्यक्ष पौडेलका अनुसार आगामी दिनमा थप विशेषज्ञ सेवा विस्तार गर्नुका साथै अत्याधुनिक स्वास्थ्य प्रविधि भित्र्याउने योजना रहेको छ। 

    यसैबीच, अफिन लुम्बिनी प्रदेशका अध्यक्ष रामप्रसाद खरेलले बुटवल हस्पिटल लुम्बिनी प्रदेशकै स्वास्थ्य सेवाको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित भइसकेको उल्लेख गर्दै निजी स्वास्थ्य क्षेत्रमा यसले सकारात्मक उदाहरण प्रस्तुत गरेको बताए।

    बुटवल–६, चाँदबारी चोकस्थित बुटवल हस्पिटल प्रा.लि. सरकारबाट १०० शैयाको सञ्चालन अनुमति प्राप्त बहुविशेषज्ञ अस्पताल हो। यहाँ हाल ३५ जना विशेषज्ञ चिकित्सकसहित करिब ३०० जना कर्मचारी कार्यरत छन्। हस्पिटलले हालै अत्याधुनिक सिटी स्क्यान (CT Scan) सेवा सञ्चालनमा ल्याएको छ।  जसबाट यस क्षेत्रका बिरामीले थप सहज, छिटो र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।



    lumbinisanjal   
  • २०८३ श्रावण ८, शुक्रबार १८:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP