• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    वाग्ला माविमा एसईई उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा शिक्षक सम्मानित

    • lumbinisanjal
    • २०८३ जेष्ठ ३, आईतवार १७:२५
    1.1K
    SHARES
    वाग्ला माविमा एसईई उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा शिक्षक सम्मानित

    गुल्मी, ३ जेठ । गुल्मीको धुर्कोट गाउँपालिका–७, वाग्लामा रहेको वाग्ला माध्यमिक विद्यालयले शैक्षिक वर्ष २०८२ को एसईई परीक्षामा शतप्रतिशत (१००%) नतिजा हासिल गर्दै उल्लेखनीय सफलता प्राप्त गरेको छ। यस ऐतिहासिक उपलब्धिको अवसरमा विद्यालयले उत्कृष्ट अंक ल्याउने विद्यार्थी तथा योगदान पुर्‍याउने शिक्षकहरूलाई सम्मान गर्दै विशेष कार्यक्रम सम्पन्न गरेको छ।

    कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गर्दै विद्यालय परिवारले उनीहरूको मेहनत, लगनशीलता र समर्पणको प्रशंसा गरेको थियो। साथै, सफल नतिजा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने शिक्षकहरूलाई पनि विशेष रूपमा सम्मान गरिएको विद्यालयले जनाएको छ।

    कार्यक्रमलाई सम्बोधन गर्दै धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै वाग्ला माविको सफलताले सामुदायिक विद्यालयप्रतिको धारणा परिवर्तन गर्न मद्दत गरेको बताउनुभयो।

    उहाँले भन्नुभयो, “इच्छाशक्ति, मेहनत र उपयुक्त शैक्षिक वातावरण भएमा गाउँकै सामुदायिक विद्यालयमा पनि उत्कृष्ट शिक्षा सम्भव छ भन्ने उदाहरण वाग्ला माविले प्रस्तुत गरेको छ।” त्यस्तै, उपाध्यक्ष सीता गिरीले विद्यालय, शिक्षक र विद्यार्थीको सामूहिक प्रयासको प्रशंसा गर्दै छोरी र छोरा दुवैलाई समान रूपमा उच्च शिक्षाको अवसर दिन अभिभावकलाई आग्रह गर्नुभयो।

    वडा नं. ७ का वडाध्यक्ष लीला बहादुर खनालले वाग्ला माविको सफलताले वडाको गौरव बढाएको उल्लेख गर्दै विद्यालयको विकासमा निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।

    विद्यालयका प्रधानाध्यापक भेषराज खनालले शिक्षक, विद्यार्थी र अभिभावकबीचको सहकार्यकै कारण यो सफलता सम्भव भएको बताउँदै आगामी दिनमा शैक्षिक गुणस्तर अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिम प्रसाद पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक रुमकान्त खनालले गर्नुभएको थियो। कार्यक्रममा उत्कृष्ट विद्यार्थी तथा शिक्षकहरूलाई सम्मान गरिएको थियो।



    lumbinisanjal   
  • २०८३ जेष्ठ ३, आईतवार १७:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP