• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    आधुनिक पूर्वाधारदेखि विश्वस्तरीय शिक्षासम्म : इन्जिनियर सुरज पाण्डेको समृद्ध रुपन्देहीको रोडम्याप

    • lumbinisanjal
    • २०८२ माघ २५, आईतवार ००:४४
    2.7K
    SHARES
    आधुनिक पूर्वाधारदेखि विश्वस्तरीय शिक्षासम्म : इन्जिनियर सुरज पाण्डेको समृद्ध रुपन्देहीको रोडम्याप

    बुटवल, २५ माघ । उज्यालो नेपाल पार्टीबाट रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार इन्जिनियर सुरज पाण्डेले भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्यलाई विकासको मेरुदण्ड बनाउँदै आफ्ना नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ।

    बुटवलमा आयोजित कार्यक्रममा बोल्दै पाण्डेले रुपन्देहीलाई आर्थिक, शैक्षिक र प्रविधिक केन्द्रका रूपमा विकास गर्ने स्पष्ट दृष्टिकोण प्रस्तुत गर्नुभयो। “रुपन्देहीको दिगो विकासका लागि आधुनिक भौतिक र डिजिटल पूर्वाधार निर्माण मेरो पहिलो प्राथमिकता हो,” उहाँले भन्नुभयो।

    उद्योग, व्यापार र सेवा क्षेत्र विस्तारका लागि आधुनिक सडक, ऊर्जा, सूचना प्रविधि तथा डिजिटल संरचना विकास गरिने उहाँको भनाइ छ। सूचना प्रविधि (आईटी) उद्योगलाई प्रवर्द्धन गर्दै डाटा सुरक्षा सुदृढीकरण, डिजिटल सेवा विस्तार र रोजगारी सिर्जना गर्ने लक्ष्य अघि सार्नुभयो। उद्योगमैत्री सीप विकास कार्यक्रममार्फत युवालाई तालिम दिई दक्ष र प्रतिस्पर्धी जनशक्ति उत्पादन गरिने योजना पनि उहाँले सार्वजनिक गर्नुभयो।

    पर्यटनलाई स्थानीय अर्थतन्त्रको बलियो आधार बनाउने रणनीतिसहित होटल, रेस्टुरेन्ट, धार्मिक तथा प्राकृतिक पर्यटन प्रवर्द्धनमा जोड दिइने पाण्डेले बताउनुभयो। यसले रुपन्देहीमा नयाँ रोजगारीका अवसर सिर्जना गर्ने उहाँको विश्वास छ।

    उहाँले बजारको मागअनुसार छिटो अनुकूलन हुनसक्ने नीतिगत तथा संस्थागत संरचना विकासमा ध्यान दिइने बताउँदै जलविद्युत क्षेत्रलाई प्रविधि, मूल्य अभिवृद्धि र उद्योगसँग जोडेर आर्थिक मेरुदण्डका रूपमा विकास गर्ने योजना अघि सार्नुभयो।

    स्वास्थ्य क्षेत्रमा सर्वसुलभ र गुणस्तरीय सेवा सुनिश्चित गर्न आधुनिक क्षेत्रीय अस्पताल, मेडिकल कलेज तथा स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। शिक्षातर्फ विश्वस्तरीय शिक्षासँग जोडिने उद्देश्यसहित विदेशी विश्वविद्यालयका क्याम्पस नेपालमै स्थापना गर्ने योजनासमेत उहाँले सार्वजनिक गर्नुभयो।

    पेशाले मेकानिकल इन्जिनियर तथा उद्योगपति रहेका पाण्डेले काठमाडौं विश्वविद्यालयबाट इन्जिनियरिङ अध्ययन पूरा गर्नुभएको हो। उहाँले इटालीमा इरास्मस छात्रवृत्तिमार्फत स्नातकोत्तर तहको अध्ययन सम्पन्न गर्नुभएको छ।

    २७ वर्षको उमेरमै तिलोत्तमा–टिकुलीगढ क्षेत्रमा उद्योग स्थापना गरी जलविद्युत उत्पादन, आपूर्ति तथा वितरण क्षेत्रमा संलग्न हुँदै १०० भन्दा बढीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी दिएको उहाँको दाबी छ।

    रुपन्देही उद्योग संघका एसोसिएट सदस्यसमेत रहनुभएका पाण्डेले पूर्वाधार, ऊर्जा, सीप विकास, डिजिटल रूपान्तरण, स्वास्थ्य, पर्यटन र शिक्षामार्फत समृद्ध रुपन्देही निर्माण गर्ने स्पष्ट दृष्टिकोणका साथ आफू चुनावी मैदानमा उत्रिएको बताउनुभयो।



    lumbinisanjal   
  • २०८२ माघ २५, आईतवार ००:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP