• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिसलाई

    • lumbinisanjal
    • २०८१ चैत्र १६, शनिबार ०९:१३
    2K
    SHARES
    प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिसलाई

    बुटवल ,१६ चैत । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । आज भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई छ विकेटले पराजित गर्दै पुलिसले उपाधि जितेको हो ।

    जितका लागि १५५ रनको लक्ष्य पछ्याएको पुलिसले २५.२ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो । उसका लागि ओपनर कुशल भुर्तेलले ६१ रन बनाए । कूल ७० बलको सामना गरेका उनले सात चौका र तीन छक्का प्रहार गरे । यस्तै अमित श्रेष्ठले ३९ र दिलिपनाथले अविजित ३१ रन बनाए ।

    आर्मीका लागि साहब आलमले तीन र नरेन साउदले एक विकेट लिए । त्यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ४३ ओभरमा सबै विकेट गुमाउँदै १५४ रन बनाएको थियो ।

    २५ रनमै ५ विकेट गुमाएको आर्मीका लागि कप्तान विनोद भण्डारी र वसीर अहमदले ७५ रन बढीको साझेदारी गरेका थिए । उसका लागि बसीर अहमदले १०४ बलको सामना गर्दै नौ चौका र एक छक्काको सहयोगमा ८६ रन बनाए भने कप्तान विनोद भण्डारीले २९ रनको योगदान दिए । त्यसबाहेक विवेक यादवले ११ रन बनाउदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् ।

    आर्मीलाई सस्तोमै समेट्ने क्रममा बलिङतर्फ नेपाल पुलिसका करण केसीले ७ ओभरमा एक मेडेनसहित ३० रन खर्चेर तीन विकेट लिए । सागर ढकालले आठ ओभरमा २९ रन खर्चेर तीन विकेट लिँदा कप्तान दीपेन्द्र सिंह ऐरीले दुई र ललित राजवंशी र गुलशन झाले समान एक-एक विकेट लिए ।

    प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत यसपटक ४६ वटा खेलहरू खेलाइएको थियो । यी सबै खेल पहिलो पटक काठमाडौँ बाहिर रूपन्देहीका रहेको सिद्धार्थ क्रिकेट रंगशाला, तिलोत्तमामा रहेको एकस्ट्राटेक ओभल क्रिकेट रंगशाला र दाङ्गको लमहिमा रहेको देउखुरी अन्तर्राष्ट्रिय रङ्गशालामा आयोजना भएको हो ।

    प्रतियोगितामा ७ वटै प्रदेशका टोली र नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको विभागीय टोली सहित १० वटा टोलीहरूले सहभागिता जनाएका थिए ।



    lumbinisanjal   
  • २०८१ चैत्र १६, शनिबार ०९:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP