• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    नेपालले नेदरल्याण्ड्सलाई ५ विकटले हरायो

    • lumbinisanjal
    • २०८२ जेष्ठ २१, बुधबार २३:५२
    8K
    SHARES
    नेपालले नेदरल्याण्ड्सलाई ५ विकटले हरायो

    बुटवल , २२ जेठ । आइसिसी विश्वकप लिग टु अन्तर्गत आरिफ शेखको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको छ ।

    स्कटल्याण्डको डुन्डीमा बुधबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले हराएको हो । २ सय २६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

    नेपालको जितमा आरिफले महत्वपूर्ण अर्धशतक बनाए । आरिफले ९९ बलमा ७ चौका र २ छक्काको सहयोगमा ७८ रनमा आउट भए । नेपाली टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले ६१ बलमा ३ चौकाको सहयोगमा नट आउट ३८ रन बनाए । पाँचौ विकेटका लागि आरिफ र दीपेन्द्रले ८९ रनको महत्वपुर्ण साझेदारी गरे ।

    ओपनर कुशल भुर्तेलले ४२ बलमा ३ चौकाको सहयोगमा २५ रन जोडे । कप्तान रोहित पौडेल ३९ बलमा १ चौकाको सहयोगमा २३ रनमा आउट भए । अर्का ओपनर आसिफ शेख २२ बलमा ३ चौकाको सहयोगमा १९ रनमा आउट भए । भीम सार्की २६ बलमा १ चौकाको सहयोगमा ११ रनमा आउट भए ।

    नेदरल्याण्ड्सका लागि माइकल लेभिटले २ तथा भिभियन किंग्मा र पल भान मेकरेनले समान १ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्स ४९.१ ओभरमा २ सय २५ रनको योगफलमा समेटियो ।

    नेदरल्याण्ड्का लागि नोहा कोर्सले ५५ बलमा ५ चौकाको सहयोगमा सर्वाधिक ४८ रन बनाए । ८औं विकेटका लागि कोर्स र रोलेफ भान डर मिर्वोले ५५ रनको साझेदारी गर्दै टोलीलाई मध्यम योगफल सम्म पुर्याए । मिर्वो २२ बलमा २१ रन बनाउँदै रन आउट भए ।

    कप्तान स्कट एडवार्डसले ७१ बलमा ४ चौकाको सहयोगमा सर्वाधिक ४६ रन जोडे । ४६ रन जोड्दै कप्तान एडवार्डस ललित नारायण राजवंशीको बलमा रोहित पौडेलबाट समातिए ।

    उत्कृष्ट सुरुवात गरेको नेपाल ५ ओभर भित्र नेदरल्याण्ड्सको २ ओपनरलाई आउट गरिसकेको थियो । नेपालले नेदरल्याण्ड्सका दुवै ओपनर माइकल लेभिट र म्याक्स ओ डाउडलाई सस्तैमा आउट गरेको थियो । पहिलो विकेटका रुपमा इनिङको दोस्रो ओभरको पहिलो बलमा सोमपाल कामीले लेभिटलाई १ रन जोडेको अवस्थामा आउट गराए ।

    नेपालले दोस्रो विकेटका रुपमा अर्का ओपनर म्याक्स ओ डाउडलाई ४ रनमा आउट गरायो । पाँचौ ओभरको पाँचौ बलमा म्याक्स करण केसीको बलमा बोल्ड आउट भए । दोस्रो विकेट लिएको १ सय १ बल पछि नेपालले तेस्रो सफलता पाएको थियो ।

    तेस्रो विकेटका रुपमा नेदरल्याण्ड्सले विक्रमजित सिंहलाई ३८ रनमा गुमाएको थियो । सिंहले कप्तान एडवार्डससँग मिलेर तेस्रो विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए । उक्त साझेदारी नेपालका बलर सन्दीप लामिछानेले तोडेका थिए ।

    ज्याक लायन ३४ बलमा २७ रन बनाउँदै ललितको बलमा आउट भए । तेजा निदामनुरु २९ बलमा १३ रनमा सन्दीप लामिछानेको बलमा आउट हुन पुगे । नेपालका लागि सोमपालले ३ तथा करण, ललित र सन्दीपले समान २ विकेट लिए ।

    विजयी नेपाल १४ खेलमा १० अंकका साथ लिगको सातौं स्थानमा छ । भने, विजयी नेदरल्याण्ड्स २१ खेलमा २६ अंकसहित दोस्रो स्थानमा यथावत छ । ८ टोली सहभागी लिग टु ओडिआई विश्वकप २०२७ को छनोट प्रतियोगिता समेत हो ।

    सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउने छन् । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोटको प्लेअफ खेल्नुपर्ने छ ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ २१, बुधबार २३:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP