• २०८३ जेष्ठ ३० | Sat, 13 Jun 2026
  • Dark Mode

          Subscribe

    बालश्रम अन्त्यका लागि दीप प्रज्ज्वलन

    • lumbinisanjal
    • २०८३ जेष्ठ ३०, शनिबार १२:०५
    13
    SHARES
    बालश्रम अन्त्यका लागि दीप प्रज्ज्वलन

    बुटवल ,३० जेठ ।  विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा एम्नेस्टी इन्टरनेशनल नेपाल समूह–१२ बुटवल र समूह–३७ बुटवल महिला समूहले बालश्रम अन्त्यको सन्देश प्रवाह गर्दै बुटवलको राजमार्ग चौराहामा दीप प्रज्ज्वलन गरेका छन् ।

    शुक्रबार साँझ गरिएकाे कार्यक्रममा एम्नेस्टी इन्टरनेशनल नेपाल समूह–१२ का संयोजक खडानन्द भण्डारी, समूहका सल्लाहकार तथा निवर्तमान संयोजक एवं एम्नेस्टी इन्टरनेशनल नेपाल प्रेपरेटरी कमिटी (प्रेपकम) सदस्य कविन्द्र नेपाल, समूह–३७ बुटवल महिला समूहकी संयोजक अमृता रोका लगायत पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रेपकम सदस्य कविन्द्र नेपालले बालबालिकाको शिक्षा, स्वास्थ्य र समग्र बाल्यकालमा प्रतिकूल असर पुग्ने खालका नियमित तथा श्रमजन्य काममा बालबालिकालाई संलग्न गराउनु बालअधिकारको उल्लङ्घन भएको बताए । उनले प्रत्येक बालबालिकाले शिक्षा, संरक्षण र विकासको अधिकार प्राप्त गर्नुपर्ने उल्लेख गर्दै बालश्रमको अन्त्यका लागि राज्य, अभिभावक र समाज सबै जिम्मेवार हुनुपर्ने धारणा राखे ।

    समूह–१२ का संयोजक खडानन्द भण्डारीले विश्व बालश्रम विरुद्ध दिवसको मुख्य उद्देश्य बालश्रम उन्मूलनका लागि आवश्यक पहल, नीति तथा कार्यान्वयनतर्फ सरकार, सरोकारवाला निकाय र आम नागरिकको ध्यानाकर्षण गराउनु रहेको बताए । उनले बालश्रम अन्त्यका लागि कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

    समूह–३७ बुटवल महिला समूहकी संयोजक अमृता रोकाले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै बालश्रम विरुद्धको अभियानमा सहकार्य र ऐक्यबद्धता जनाउन प्रतीकात्मक रूपमा दीप प्रज्ज्वलन गरिएको जानकारी दिइन् ।

    हरेक वर्ष जुन १२ मा मनाइने विश्व बालश्रम विरुद्ध दिवसले बालश्रममा संलग्न बालबालिकाको अवस्था उजागर गर्दै उनीहरूको अधिकार संरक्षणका लागि विश्वव्यापी प्रतिबद्धता सुदृढ गर्ने उद्देश्य राख्छ । नेपालमा बालश्रमको दर क्रमशः घट्दै गए पनि अझै ठूलो सङ्ख्यामा बालबालिका श्रममा संलग्न रहेको विभिन्न अध्ययनले देखाएका छन् । विशेषगरी कृषि क्षेत्रले कुल बालश्रमको ठूलो हिस्सा ओगटेको छ भने जोखिमपूर्ण श्रममा समेत बालबालिका संलग्न हुने अवस्था कायमै छ ।

    नेपालले सन् १९९० मा संयुक्त राष्ट्रसंघको बालअधिकार सम्बन्धी महासन्धिमा हस्ताक्षर गरी बालअधिकार संरक्षणप्रति प्रतिबद्धता जनाएको छ । साथै बालश्रम निषेध तथा नियमन सम्बन्धी कानुन, बालबालिका सम्बन्धी ऐन तथा अन्य मानवअधिकारसम्बन्धी कानुनी व्यवस्थाले बालश्रमलाई गैरकानुनी घोषणा गरेका छन् ।

    सहभागीहरूले विद्यमान कानुन तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन गर्दै नेपाललाई बालश्रममुक्त राष्ट्र बनाउने अभियानमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।



    lumbinisanjal   
  • २०८३ जेष्ठ ३०, शनिबार १२:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP