• २०८३ जेष्ठ ३० | Sat, 13 Jun 2026
  • Dark Mode

          Subscribe

    श्रमिक अधिकार र व्यवसायजन्य सुरक्षाबारे बुटवलमा विशेष अभिमुखीकरण

    • lumbinisanjal
    • २०८३ जेष्ठ २७, बुधबार १४:१४
    182
    SHARES
    श्रमिक अधिकार र व्यवसायजन्य सुरक्षाबारे बुटवलमा विशेष अभिमुखीकरण

    बुटवल,२७ जेठ  । श्रमिकको हकहित संरक्षण, सुरक्षित कार्यस्थल निर्माण तथा असल श्रम सम्बन्धको विकासका विषयमा आयोजित कार्यक्रममा श्रम तथा रोजगार कार्यालय बुटवलका निमित्त प्रमुख ऋषिराम पन्थीले श्रम कानूनका विविध पक्षबारे प्रस्तुतीकरण गर्नुभएको छ ।

    पन्थीले रोजगार सम्झौता, रोजगार समन्वय, रोजगारीका प्रकार, रोजगारीको सुरक्षा, काम गर्ने समय, अतिरिक्त पारिश्रमिक, न्यूनतम पारिश्रमिक, योगदानमा आधारित सामाजिक सुरक्षा कोष तथा व्यवसायजन्य सुरक्षालगायतका विषयमा जानकारी गराउनुभयो । उहाँले श्रमिकका लागि सेवा प्रदायक कम्पनी तथा संस्थाले श्रम ऐनको पूर्ण पालना गर्दै सुरक्षित र मर्यादित कार्यस्थल निर्माणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

    उहाँले व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य (Occupational Safety and Health–OSH) को उद्देश्य, सुरक्षा तथा स्वास्थ्य नीति, गृह सम्भारको व्यवस्था, विद्युत् सुरक्षा, ध्वनि नियन्त्रण, सरसफाइ, मालसामान व्यवस्थापन, शुद्ध पिउने पानी तथा स्वास्थ्यसम्बन्धी व्यवस्थाका विषयमा समेत प्रकाश पार्नुभएको थियो ।

    कार्यक्रममा युवा, श्रम तथा रोजगार मन्त्रालयका उपसचिव गगन सिंह बिष्टले सामाजिक सुरक्षाको महत्वबारे चर्चा गर्दै “अप्ठ्यारोको साथी भनेकै सामाजिक सुरक्षा कोष हो” भन्नुभयो । उहाँले असल श्रम सम्बन्ध स्थापना, अन्तर्राष्ट्रिय अभ्यास, श्रम क्षेत्रमा देखिएका चुनौती, श्रम विवाद समाधानका उपाय, श्रम विवाद समाधानका विधि, श्रम सम्बन्धका संवैधानिक तथा कानुनी आधारका विषयमा सहभागीलाई जानकारी गराउनुभयो ।

    त्यस अवसरमा ट्रेड युनियन कांग्रेस लुम्बिनी प्रदेश अध्यक्ष काजिमान श्रेष्ठले श्रमिकका अधिकार संरक्षणसँगै रोजगारदाताको दायित्व पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य हरिप्रसाद अर्यालले श्रम सम्बन्ध सुदृढ भएमा उद्योग–व्यवसायको उत्पादनशीलता र प्रतिस्पर्धात्मक क्षमता बढ्ने उल्लेख गर्दै श्रमिक र रोजगारदाताबीच सहकार्य र विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा मन्त्रालयका शाखा अधिकृतहरू लक्ष्मी मरासिनी, बन्दना कर्ण, हुम पाण्डेलगायतले पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षासम्बन्धी विविध विषयमा आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा सहभागीहरूले श्रम अधिकार, सामाजिक सुरक्षा तथा सुरक्षित कार्यस्थल निर्माणसम्बन्धी विषयमा जानकारी प्राप्त गरेका थिए।



    lumbinisanjal   
  • २०८३ जेष्ठ २७, बुधबार १४:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP