• २०८३ जेष्ठ ३० | Sat, 13 Jun 2026
  • Dark Mode

          Subscribe

    आजदेखी बुटवलमा राष्ट्रिय छात्र यु–१९ भलिबल हुदै

    • lumbinisanjal
    • २०८३ जेष्ठ २८, बिहीबार ०७:४४
    221
    SHARES
    आजदेखी बुटवलमा राष्ट्रिय छात्र यु–१९ भलिबल हुदै

    बुटवल, २८ जेठ । युवा खेलाडीलाई राष्ट्रियस्तरको प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने उद्देश्यले बुटवलमा मदनभण्डारी कप यु–१९ विद्यालयस्तरीय राष्ट्रिय छात्र भलिबल प्रतियोगिता–२०८३ आजदेखी आयोजना हुने भएको छ।

    जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

    बुधबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले खेलकुदमार्फत युवा प्रतिभाको पहिचान र विकास गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको बताए। ‘सबैका लागि खेलकुद’ भन्ने मूल नारासहित २०६६ सालमा स्थापना भएको एकेडेमीले निरन्तर खेल गतिविधि सञ्चालन गर्दै आए पनि पछिल्ला वर्षहरूमा विभिन्न परिस्थितिका कारण कार्यक्रमहरू अपेक्षित रूपमा अघि बढ्न नसकेको उनले उल्लेख गरे।

    उनले यस वर्ष छात्र भलिबल प्रतियोगितामार्फत एकेडेमीका गतिविधिलाई थप सक्रिय बनाइएको बताउँदै आगामी दिनमा छात्रा भलिबलसहित अन्य खेलकुद कार्यक्रमलाई समेत विस्तार गरिने जानकारी दिए।

    प्रतियोगिताको विजेता टोलीलाई नगद १ लाख रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। यस्तै उपविजेताले ५० हजार रुपैयाँ, तृतीय हुने टोलीले ३० हजार रुपैयाँ तथा चौथो स्थान हासिल गर्ने टोलीले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

    व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ नगदसहित सम्मान गरिनेछ भने उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर र डिफेन्डरलाई जनही ५ हजार रुपैयाँ तथा ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

    प्रतियोगिता संयोजक राम केसीका अनुसार असार १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा न्यूटन हाई स्कुल (बागमती), पोखरा युनाइटेड एकेडेमी (कास्की), इन्स्पिरेशन इङ्ग्लिस स्कुल (झापा), न्यू होराइजन स्कुल (बुटवल), नवलपुर भलिबल एकेडेमी (नवलपुर), दीप बोर्डिङ स्कुल (बुटवल), मणिमुकुन्द कलेज (बुटवल) र मण्डला स्पोर्ट्स एकेडेमी (पाल्पा) गरी आठ टोलीको सहभागिता रहनेछ।

    आयोजकका अनुसार प्रतियोगिता सञ्चालनका लागि करिब ३४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। विद्यालयस्तरका प्रतिभावान खेलाडीलाई राष्ट्रिय मञ्च प्रदान गर्ने विश्वास लिइएको प्रतियोगिताले नेपाली भलिबलको आधारस्तर मजबुत बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।



    lumbinisanjal   
  • २०८३ जेष्ठ २८, बिहीबार ०७:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP