• २०८३ जेष्ठ ३० | Sat, 13 Jun 2026
  • Dark Mode

          Subscribe

    प्रेस स्वतन्त्रताप्रति सम्मान गर्न दिलीप पौडेलको अर्थमन्त्रीलाई आग्रह

    • lumbinisanjal
    • २०८३ जेष्ठ २८, बिहीबार १२:५७
    195
    SHARES
    प्रेस स्वतन्त्रताप्रति सम्मान गर्न दिलीप पौडेलको अर्थमन्त्रीलाई आग्रह

    बुटवल ,२८ जेठ । नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले पत्रकारबारे दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्। उनले उक्त टिप्पणीलाई पत्रकारिता पेशाको अपमान तथा प्रेस स्वतन्त्रतामाथिको अप्रत्यक्ष प्रहारका रूपमा टिप्पणी गरेका छन्।

    आर्थिक विधेयकमा संशोधन गरिएको तथा विद्युतीय सवारीसाधनमा करका दर हेरफेरसम्बन्धी सूचना चुहावट भएको आशंकामा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि आलोचनाको केन्द्रमा रहेका अर्थमन्त्री वाग्लेले अर्थ समितिको बैठकमा पत्रकारप्रति असन्तुष्टि व्यक्त गर्दै ‘माइक्रोसफ्ट वर्ड चलाउन पनि जान्दैनन्’ भन्ने टिप्पणी गरेका थिए।

    उक्त अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै महासचिव पौडेलले सामाजिक सञ्जालमार्फत अर्थमन्त्रीको भनाइ गैरजिम्मेवार, अहंकारी तथा पदको गरिमाविपरीत रहेको बताएका छन्।

    “पत्रकारप्रति होच्याउने शैलीमा गरिएको टिप्पणीले तपाईंको विद्वता होइन, असहिष्णुता प्रदर्शन गरेको छ,” पौडेलले लेखेका छन्। “नामअघि ‘डा.’ लेख्दैमा कोही लोकतान्त्रिक हुँदैन। आलोचना सहन नसक्ने प्रवृत्तिले विद्वताको होइन, सत्ताको मात चढेको मानसिकताको परिचय दिन्छ।”

    पौडेलले सञ्चारमाध्यमले उठाएका प्रश्नको तथ्य र प्रमाणसहित जवाफ दिनुको सट्टा पत्रकारको क्षमतामाथि नै प्रश्न उठाउनु दुःखद भएको बताएका छन्। “यदि समाचार गलत छन् भने त्यसको खण्डन गर्नुस्, प्रमाण सार्वजनिक गर्नुस्। तर पत्रकारलाई अपमान गरेर सत्य लुकाउन खोज्नु लोकतान्त्रिक अभ्यास होइन,” उनले उल्लेख गरेका छन्।

    यसैबीच पौडेलले मूल प्रश्नबाट ध्यान मोड्ने प्रयास भइरहेको आरोप लगाउँदै आर्थिक विधेयकमा भएको भनिएको चलखेलबारे सरकार स्पष्ट हुनुपर्ने बताएका छन्। उनले प्रश्न गरेका छन्, “आर्थिक विधेयकमा उठेका गम्भीर प्रश्नको जवाफ दिने कि प्रश्न उठाउने पत्रकारमाथि नै प्रहार गर्ने ?”

    पत्रकार महासंघ निकट विभिन्न सञ्चारकर्मीले समेत सामाजिक सञ्जालमा अर्थमन्त्रीको अभिव्यक्तिको आलोचना गरेका छन्। उनीहरूको भनाइमा आलोचनाको तथ्यगत जवाफ दिनुको सट्टा पत्रकारमाथि व्यक्तिगत टिप्पणी गर्नु लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हो।

    अर्थमन्त्री वाग्लेको उक्त अभिव्यक्तिपछि सञ्चार क्षेत्र तथा सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया र आलोचना भइरहेको छ।



    lumbinisanjal   
  • २०८३ जेष्ठ २८, बिहीबार १२:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP