• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    वेस्टर्न मेगा कलेजद्वारा मोक्षधाम सरसफाइ तथा तीर्थयात्री सेवा अभियान सम्पन्न

    • lumbinisanjal
    • २०८३ श्रावण ११, सोमबार १६:१२
    715
    SHARES
    वेस्टर्न मेगा कलेजद्वारा मोक्षधाम सरसफाइ तथा तीर्थयात्री सेवा अभियान सम्पन्न

    बुटवल । बुटवल–१५, देवीनगरस्थित वेस्टर्न मेगा कलेजले सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै तिलोत्तमा–७, भलवारीस्थित मोक्षधाम मन्दिर परिसरमा सरसफाइ तथा तीर्थयात्री सेवा कार्यक्रम सम्पन्न गरेको छ।

    कलेजको चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूको सक्रिय सहभागितामा सोमबार सम्पन्न उक्त कार्यक्रममा मन्दिर परिसरको सरसफाइ गर्नुका साथै दर्शनार्थी तथा तीर्थयात्रीलाई आवश्यक सहयोग प्रदान गरिएको कलेजले जनाएको छ।

    श्रावण महिनामा मन्दिरमा भक्तजनको चाप बढ्ने भएकाले परिसरलाई स्वच्छ र व्यवस्थित राख्ने तथा सेवामुखी संस्कृतिको विकास गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। कलेजका अनुसार यो अभियान श्रावण महिनाभर निरन्तर सञ्चालन हुनेछ। आगामी साउन १८ गते जानकीनगरस्थित श्री शिद्धेश्वरनाथ शिव मन्दिर र मणिग्रामस्थित दुर्गा/शिव मन्दिर तथा साउन २५ गते पर्रोहास्थित बोलबमधाम र भलवारी बसपार्क नजिकको शिव मन्दिर परिसरमा पनि सरसफाइ कार्यक्रम गरिनेछ।

    कलेजले विद्यार्थीलाई कक्षाकोठाभित्रको सैद्धान्तिक शिक्षामा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्व, नेतृत्व क्षमता, व्यवहारिक सीप र सेवाभावको विकासमा जोड दिँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ।

    कलेजका प्राचार्य अधिवक्ता किशु शर्माले विद्यार्थीलाई समाजसँग जोडेर सिकाइलाई व्यवहारमा रूपान्तरण गर्नु नै कलेजको मुख्य उद्देश्य रहेको बताए। “शिक्षा केवल कक्षाकोठामा सीमित हुनु हुँदैन। विद्यार्थीमा सामाजिक उत्तरदायित्व, नेतृत्व क्षमता र मानवीय सेवाको भावना विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी माध्यम हुन्। समाजसँग जोडिएको सिकाइले उनीहरूलाई सक्षम, जिम्मेवार र असल नागरिक बन्न प्रेरित गर्छ,” उनले भने।

    उनले यस्ता रचनात्मक तथा सेवामूलक गतिविधिलाई आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी दिए।

    वेस्टर्न मेगा कलेजमा स्नातक तहअन्तर्गत चारवर्षे BIT र BHM तथा स्नातकोत्तर तहमा MBA कार्यक्रम सञ्चालनमा रहेका छन्। साथै शैक्षिक सत्र २०८३ को नयाँ भर्ना पनि खुला रहेको कलेजले जनाएको छ।



    lumbinisanjal   
  • २०८३ श्रावण ११, सोमबार १६:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP