• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    “देश दीर्घरोगी बन्दै गयो, उपचारका लागि राजनीतिमा होमिएँ” – डा. लेखजंग थापा

    • lumbinisanjal
    • २०८२ फाल्गुन ११, सोमबार ०९:५०
    598
    SHARES
    “देश दीर्घरोगी बन्दै गयो, उपचारका लागि राजनीतिमा होमिएँ” – डा. लेखजंग थापा

    बुटवल । रुपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. लेखजंग थापाले देश झनपछि झन दीर्घरोगी जस्तै बन्दै गएकाले आफू टुलुटुलु हेरेर बस्न नसकेपछि राजनीतिमा होमिएको बताएका छन्। क्षेत्रका मतदातालाई सम्बोधन गर्दै उनले शुक्रबार सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्।

    ‘मैले एक चिकित्सकको रूपमा डेढ दशकदेखि बिरामीहरूको उपचार गर्दै आएँ। तर देशमा मौलाउँदै गएको भ्रष्टाचार, बेथिति र बेरोजगारी जस्ता रोगले देश दीर्घरोगी बन्दै गयो, जुन मैले टुलुटुलु हेरेर बस्न सकिनँ,’ उनले लेखेका छन्, ‘नीतिगत र प्रणालीगत अवस्थालाई सुधार गरी देशको उपचार गर्छु भन्ने संकल्पसहित राजनीतिमा आएको हुँ। यो राजनीतिक यात्राको सुरुवात आफ्नै जन्म जिल्ला रुपन्देहीबाट गरेको छु।’

    उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि घर–आँगनमा पुग्दा मतदाताले देखाएको माया, विश्वास र साथले आफूलाई थप हौसला मिलेको बताएका छन्। आफूलाई मत दिएर नीतिनिर्माण गर्ने स्थानमा पुर्‍याउने विश्वाससमेत उनले व्यक्त गरेका छन्।

    ‘हिजो मैले नागरिकको शरीरमा लागेको रोगको उपचार गरेँ। अब देशको उपचार गरेर नागरिकले भोगिरहेका समस्या समाधान गर्न राजनीतिमा आएको छु,’ उनले उल्लेख गरेका छन्, ‘देशप्रतिको मेरो माया र केही गर्छु भन्ने हुटहुटीलाई यहाँहरूले चिन्नुहुनेछ भन्ने विश्वास लिएको छु।’

    गत माघ ६ गते उम्मेदवारी मनोनयन दर्ताका क्रममा देखिएको उल्लेखनीय उपस्थितिले आफूलाई थप ऊर्जा दिएको उनको भनाइ छ। उक्त अवसरमा साथ दिने पार्टीका विभिन्न तहका नेता–कार्यकर्ता, जेनजी अगुवा, सामाजिक अभियन्ता तथा सर्वसाधारणप्रति उनले आभार व्यक्त गरेका छन्।
    हाल उनी नागरिकका गुनासा सुन्दै घरदैलो अभियानलाई तीव्र बनाउँदै क्षेत्रका विभिन्न बस्तीमा सक्रिय रूपमा पुगिरहेका छन्।



    lumbinisanjal   
  • २०८२ फाल्गुन ११, सोमबार ०९:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP