• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    सुर्खेतमा कांग्रेसको प्रदेशस्तरीय सभा बिहिबार, सभापति थापा सर्लाहीबाट उतै जाने

    • lumbinisanjal
    • २०८२ फाल्गुन १३, बुधबार १४:११
    676
    SHARES
    सुर्खेतमा कांग्रेसको प्रदेशस्तरीय सभा बिहिबार, सभापति थापा सर्लाहीबाट उतै जाने

    काठमाडौं,१३ फागुन । नेपाली कांग्रेसले प्रदेशस्तरीय दोस्रो सभा बिहिबार सुर्खेतमा गर्ने भएको छ ।

    मधेस प्रदेशको राजधानी जनकपुरमा यही फागुन ६ गते पहिलो प्रदेशस्तरीय सभा गरेको थियो ।

    मधेसको सभामा देखिएको उपस्थितिले कांग्रेस पक्षमा जनसमर्थन बलियो देखाएको थियो । त्यही सभाबाट प्रतिज्ञा (चुनावी घोषणापत्र) सार्वजनिक गरेको कांग्रेसले सुर्खेतमा दोस्रो सभा गर्न लागेको हो । चुनावी अभियानमा सर्लाही–४ मा रहेका सभापति गगन थापा उतैबाट सुर्खेत पुगेर फर्कने कार्यक्रम छ । कार्यक्रममा सहभागी हुन काठमाडौंबाट उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुुसाल सुर्खेततर्फ लागेका छन् ।

    “भोलि हाम्रो प्रदेशस्तरीय सभा सुर्खेतमा हुँदै छ । म सहभागिताका लागि त्यतै जाँदैछु,” उपसभापति भुसालले भनिन् ।

    उनले त्यसपछिका सभा केही तय भए पनि समय अभावले सम्भव हुने नहुने यकिन नभइसकेको बताइन् । कांग्रेसको यसपछि बुटवल र पोखराका लागि सभाको तयारी भएको थियो ।

    केन्द्रीय प्रचार समितिबाट प्रस्तावित तालिका अनुसार सभा हुन नसकेपछि मिलाउने जिम्मा उपसभापति भुसाललाई नै दिइएको छ ।

    “सबै प्रदेशमा कम्तीमा एउटा मुख्य सभा गर्ने गरी तालिका बनेको थियो,” केन्द्रीय प्रचार समिति स्रोतले भन्यो, “तर, कतिपय तालिका अनुसार हुन नसकेपछि व्यवस्थापन गर्ने गरी उपसभापति पुष्पा भुसाललाई जिम्मा लगाइएको छ ।”

    उपसभापति भुसालले हरेक क्षेत्रबाट आइदिनुपर्छ भन्ने दबाबले कार्यतालिका कार्यान्वयन जटिल बनेको जानकारी दिइन् ।

    “धेरै ठाउँमा गरौं भन्ने दबाब छ । तर, समय एकदमै साँघुरो छ,” भुसालले भनिन्, “घरदैलोमा पनि आइदिनुपर्छ भन्ने दबाब छ । त्यसैले समय व्यवस्थापन कति सम्भव हुन सक्छ भन्नै सकिन्न ।”



    lumbinisanjal   
  • २०८२ फाल्गुन १३, बुधबार १४:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP