• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    बुटवलको पर्यटन विकासबारे गोष्ठी : दीर्घकालीन मास्टरप्लान अपरिहार्य

    • lumbinisanjal
    • २०८२ पुष १६, बुधबार १८:११
    1.8K
    SHARES
    बुटवलको पर्यटन विकासबारे गोष्ठी : दीर्घकालीन मास्टरप्लान अपरिहार्य

    बुटवल, १६ पुस । पर्यटन प्रवर्द्धनका नाममा हुने खोक्रा नारा र भाषणभन्दा अब व्यवहारिक काममा उत्रने समय आएको सरोकारवालाले बताएका छन्। सरकारको मुख ताकेर बस्दा अवसर गुम्दै गएको भन्दै निजी क्षेत्रले अग्रसरता लिनुपर्नेमा उनीहरूको जोड छ।

    रुपन्देही होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको आयोजनामा ‘समृद्धिको आधारः पर्यटन, पर्यटकीय गन्तव्य बुटवल’ विषयक पर्यटन गोष्ठीमा वक्ताहरूले बुटवललाई स्पष्ट पहिचानसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न दीर्घकालीन योजना आवश्यक रहेको बताएका हुन्। पर्यटकीय स्थलको पहिचान, संरचना विकास र प्रभावकारी प्रचारप्रसार बिना आर्थिक समृद्धि सम्भव नहुने उनीहरूको निष्कर्ष थियो।

    गोष्ठीमा पर्यटनविद् डिबी गुरुङले कार्यपत्र प्रस्तुत गर्दै पर्यटनलाई नारा होइन, उद्योगका रूपमा बुझ्नुपर्ने आवश्यकता औंल्याए। सुरक्षा व्यवस्था, सडक, ऊर्जा, होटल, आतिथ्यता, कोसेली, उद्यान, पथप्रदर्शक, यातायात, खानपान, वाइफाइ जोनलगायत पूर्वाधार पर्यटनका आधारभूत पक्ष भए पनि तिनको सही उपयोग हुन नसक्दा देश पछि परेको उनले बताए।

    उनले पर्यटन प्रवर्द्धन समन्वय समिति गठन, दीर्घकालीन मास्टरप्लान निर्माण, पर्यटन दूत घोषणा, नेचर गाइड र टुर गाइड उत्पादन गर्नुपर्ने सुझाव दिए। पर्यटनलाई व्यवसाय मात्र नभई उद्योगका रूपमा विकास गर्न सोच र नीतिमा परिवर्तन आवश्यक रहेको उनको भनाइ थियो।

    लुम्बिनी पर्यटन परिषदमार्फत पर्यटन नीति निर्माणको प्रक्रिया अघि बढेको उल्लेख गर्दै गुरुङले अन्य प्रदेशमा भने यो काम हुन नसकेको बताए। नीति नहुँदा पनि योजनामार्फत धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटन प्रवर्द्धन गर्दै स्थानीयलाई रोजगारीमा जोड्ने प्रयास भइरहेको उनले जानकारी दिए। ‘जाऔँ है बर्दिया’ र ‘जाऔँ धारापानी’ अभियान त्यसकै उदाहरण भएको उनको भनाइ थियो।

    कार्यक्रमका टिप्पणीकार युवराज घिमिरेले नेपाल भित्रिने पर्यटकमध्ये ६५ प्रतिशत मनोरञ्जन र ११ प्रतिशत धार्मिक प्रयोजनका लागि आउने तथ्य प्रस्तुत गरे। नेपाल आउने करिब १२ लाख पर्यटक औसत ३.४ दिन बस्ने र करिब ५ हजार ९ सय रुपैयाँ मात्र खर्च गर्ने दर रहेको भन्दै पर्यटनले अर्थतन्त्रमा अपेक्षित योगदान दिन नसकेको उनले बताए।

    ‘जिडिपीमा पर्यटनको योगदान २ प्रतिशतभन्दा बढी छैन,’ उनले भने। भाषागत समस्या, यातायात र सुरक्षालाई ७१ प्रतिशतभन्दा बढी पर्यटकले चुनौतीका रूपमा लिएको घिमिरेको भनाइ थियो। होटल र पर्यटन व्यवसायलाई नीतिगत रूपमा छुट्याएर संरचनागत सुधार गर्नुपर्नेमा उनले जोड दिए।

    संघका अध्यक्ष माधवकुमार खनालले बुटवलमा ९ सयभन्दा बढी होटल रहेको र करिब १ हजार पर्यटकलाई एकैपटक बसोबास गराउन सकिने क्षमता रहेको बताए। सरकारको मुख ताक्न नपर्ने अवस्था सिर्जना गर्न निजी क्षेत्रले वार्षिक योजना, बजेट र दीर्घकालीन सोचसहित अघि बढ्नुपर्ने उनको सुझाव थियो। प्रदेश सरकारले उद्योग, पर्यटन र कृषिमार्फत समृद्धिको नारा दिए पनि कार्यान्वयन कमजोर रहेको उनले टिप्पणी गरे।

    संघका महासचिव केशवराज कंडेलले नेपाली मौलिक कला, संस्कृति र स्वादको प्रवर्द्धन गर्दै आन्तरिक पर्यटन र रोजगारी सिर्जनाको उद्देश्यले बुटवल सडक खाना महोत्सव–२०८२ आयोजना गरिएको जानकारी दिए।

    गोष्ठीमा संघका सल्लाहकार माधव नेपाल, निवर्तमान अध्यक्ष लेखनाथ भण्डारी, सल्लाहकार महेन्द्र नारायण श्रेष्ठ, कुलचन्द्र पाण्डे, नेपाल उद्यान महासंघका अध्यक्ष खेम लुईटेल र कोषाध्यक्ष अर्जुन पोखरेलले धेरै कानुन पर्यटन विकासका बाधक बनेको भन्दै त्यसको सुधारमा सरकार गम्भीर हुनुपर्ने बताए। जनशक्ति अभाव र सीपयुक्त कामदारको कमी पनि प्रमुख चुनौतीका रूपमा औंल्याइएको थियो।



    lumbinisanjal   
  • २०८२ पुष १६, बुधबार १८:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP