• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुखको घोषणा

    • lumbinisanjal
    • २०८३ बैशाख ३, बिहीबार ११:०५
    598
    SHARES
    दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुखको घोषणा

    कार्डमै ‘दहेजमुक्त’ लेख्न आग्रह

    काठमाडौँ,३ बैसाख । उपसभामुख रुवि कुमारी ठाकुरले दाइजो लेनदेन हुने विवाहका कार्यक्रममा आफू सहभागी नहुने घोषणा गरेकी छन् । समाजमा अझै पनि दाइजो प्रथा गम्भीर कुरीतिका रूपमा कायम रहेको भन्दै उनले यस्तो अभ्यासलाई सामाजिक र कानुनी रूपमा दण्डनीय अपराधका रूपमा व्याख्या गरेकी छन् ।

    हालैका दिनमा आफूले प्राप्त गरेका विवाहका निमन्त्रणापत्रहरूमा ‘दहेजमुक्त विवाह’ भन्ने उल्लेख नभएको पाइएपछि उपसभामुख ठाकुरले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी हुन् । “दाइजो लिनु र दिनु मात्र होइन, लेनदेनमा आधारित विवाहलाई स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु पनि सामाजिक रूपमा अस्वीकार्य छ,” उनले भनेकी छन्, “यस्तो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुर्‍याउँछ ।”

    उनले समाज परिवर्तनको सुरुवात आफैँबाट गर्नुपर्नेमा जोड दिँदै दाइजो लेनदेन भएको विवाहमा आफू उपस्थित हुन असमर्थ रहने प्रस्ट पारेकी छन् । उपसभामुख ठाकुरले अब उप्रान्त विवाहको निमन्त्रणापत्र पठाउँदा त्यसमा दाइजो निषेधको स्पष्ट सन्देश राख्न समेत आग्रह गरेकी छन् ।

    “विवाह निमन्त्रणापत्रमा ‘दहेजमुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो’ भन्ने सन्देश समावेश गर्न हार्दिक अनुरोध गर्दछु,” उनले आह्वान गरेकी छन्, “आउनुहोस्, हामी सबै मिलेर दाइजोमुक्त समाज निर्माणतर्फ ठोस पाइला चालौँ ।”

    व्यक्तिगत स्तरबाट उठाइएको सानो कदमले पनि ठूलो सामाजिक रूपान्तरण सम्भव हुने भन्दै उनले समानतामा आधारित सुसंस्कृत विवाहको अभ्यासलाई प्रोत्साहन गर्न सबैलाई आग्रह गरेकी छन् ।



    lumbinisanjal   
  • २०८३ बैशाख ३, बिहीबार ११:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP