• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    ३४ वर्षको यात्रामा स्कलर्स होम, स्थापना दिवसमा हाजिरीजवाफसहित विविध कार्यक्रम

    • lumbinisanjal
    • २०८२ पुष ८, मंगलवार १८:०२
    2.2K
    SHARES
    ३४ वर्षको यात्रामा स्कलर्स होम, स्थापना दिवसमा हाजिरीजवाफसहित विविध कार्यक्रम

    बुटवल, ८ पुस । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४औँ स्थापना दिवसको अवसरमा जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगितासहित विविध शैक्षिक तथा रचनात्मक कार्यक्रम आयोजना गर्ने भएको छ।

    विगत १३ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको जिल्लास्तरीय अन्तरविद्यालय रनिङ शिल्ड हाजिरीजवाफ प्रतियोगिताको यो १२औँ संस्करण हो। विद्यालयले मंगलबार विद्यालयको ‘सी ब्लक’मा पत्रकार सम्मेलन गरी कार्यक्रमको जानकारी गराएको हो।

    विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले पुस १० गते हाजिरीजवाफ प्रतियोगिता र पुस ११ गते पुरस्कार वितरण तथा स्थापना दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गरिने जानकारी दिए। हाजिरीजवाफ प्रतियोगितामा विजेता समूहलाई नगद १० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो हुने समूहलाई ७ हजार ५ सय र तेस्रो हुने समूहलाई ४ हजार ५ सय रुपैयाँ नगदसहित पुरस्कार प्रदान गरिनेछ।

    उनका अनुसार हालसम्म ४० वटा विद्यालयले प्रतियोगितामा सहभागिताका लागि नाम दर्ता गराइसकेका छन्। प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थी सहभागी हुन पाउने र प्रत्येक समूहमा कम्तीमा एक जना छात्रा अनिवार्य रहने व्यवस्था गरिएको छ।
    गत वर्षको हाजिरीजवाफ प्रतियोगितामा एभरेष्ट इङ्लिस बोर्डिङ स्कुल विजेता बनेको थियो भने न्यु होराइजन बोर्डिङ स्कुलले लगातार दुई पटक तीन–तीन वर्षसम्म रनिङ शिल्ड जितिसकेको छ।

    पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनहरि बस्यालले सामाजिक सेवाको उद्देश्यसहित विद्यालय स्थापना गरिएको उल्लेख गर्दै स्कलर्स होमले आईएसओ मान्यता समेत प्राप्त गरिसकेको बताए।

    विद्यालयका संस्थापक शिव गुरुङले आफू भारतमा अध्ययन गरी त्यहीँको सिकाइ र अनुभवलाई नेपालमा प्रयोग गर्ने उद्देश्यले स्कलर्स होम स्थापना गरिएको बताए। परीक्षा प्रश्नपत्र अभिभावकलाई देखाउने अभ्यास, विद्यार्थीलाई मार्सल आर्ट सिकाउने तथा औपचारिक कार्यक्रमको जिम्मेवारी विद्यार्थीलाई नै दिने अभ्यास स्कलर्स होमले सुरु गरेको उनले बताए।

    कार्यक्रममा संस्थापिका लक्ष्मी गुरुङ र भाइस प्रेसिडेन्ट टिकाराम गौतमले स्कलर्स होम वडा नम्बर ९ मा सञ्चालनमा रहेको एकमात्र विद्यालय भएको जानकारी दिए।

    हाल स्कलर्स होम सेकेण्डरी स्कुलमा नर्सरीदेखि कक्षा १२ सम्म करिब १ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् भने बिबिएस तहमा करिब १५० जना विद्यार्थी रहेका छन्। विद्यालयमा हाल १२० जना शिक्षक तथा कर्मचारी कार्यरत छन्।



    lumbinisanjal   
  • २०८२ पुष ८, मंगलवार १८:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP