• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    सिद्धार्थ गौतम बुद्ध क्याम्पसको १०औँ साधारणसभा सम्पन्न, शैक्षिक गुणस्तर र संस्थागत विकासमा जोड

    • lumbinisanjal
    • २०८३ आश्विन २४, शनिबार १२:३२
    429
    SHARES
    सिद्धार्थ गौतम बुद्ध क्याम्पसको १०औँ साधारणसभा सम्पन्न, शैक्षिक गुणस्तर र संस्थागत विकासमा जोड

    बुटवल । रुपन्देहीको बुटवलस्थित प्रतिष्ठित सामुदायिक शैक्षिक संस्था सिद्धार्थ गौतम बुद्ध क्याम्पसको १०औँ साधारणसभा (क्याम्पस सभा) सम्पन्न भएको छ। सभाले क्याम्पसको भावी कार्यदिशासहितको प्रतिवेदन, आर्थिक तथा प्रशासनिक नियमावली, लेखापरीक्षण प्रतिवेदन, वार्षिक प्रतिवेदन र आगामी आर्थिक वर्षको अनुमानित बजेट छलफलपछि पारित गरेको छ।

    क्याम्पस सभा तथा व्यवस्थापन समितिका अध्यक्ष निर्मलप्रसाद लाकौलको अध्यक्षता र जिल्ला समन्वय समितिका संयोजक उमाकान्त चापागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा क्याम्पस सभाका सदस्य, व्यवस्थापन समितिका पदाधिकारी, पूर्वक्याम्पस प्रमुख तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।

    कार्यक्रममा प्रमुख अतिथि चापागाईंले क्याम्पसको प्रगति र सफलताको शुभकामना व्यक्त गर्दै शैक्षिक संस्थाको विकास, गुणस्तरीय शिक्षा र संस्थागत सुदृढीकरणमा जोड दिनुभयो। उहाँले सामुदायिक क्याम्पसहरूले उच्च शिक्षाको पहुँच विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै क्याम्पसको आगामी यात्रा थप उपलब्धिमूलक बन्ने विश्वास व्यक्त गर्नुभयो।

    क्याम्पस प्रमुख गोपालप्रसाद चापागाईंले क्याम्पसको शैक्षिक तथा प्रशासनिक गतिविधि, संस्थागत विकास र भावी योजनाबारे प्रकाश पार्नुभयो। उहाँले शैक्षिक गुणस्तर अभिवृद्धि, व्यवस्थापनलाई व्यवस्थित बनाउने तथा विद्यार्थीलाई गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने दिशामा क्याम्पसले प्राथमिकताका साथ काम गर्ने बताउनुभयो।
    सभामा क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष तथा पूर्वक्याम्पस प्रमुख कृष्णलाल जोशीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

    पब्लिक क्याम्पस कर्मचारी संघका सभापति ओमभद्र गौतम, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, कान्ति माध्यमिक विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीलगायतले क्याम्पसको प्रगति, उन्नति र सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

    सभामा व्यवस्थापन समितिका अध्यक्ष लाकौलले प्रस्तुत गर्नुभएको क्याम्पसको भावी कार्यदिशासहितको प्रतिवेदन, क्याम्पस प्रमुख चापागाईंले पेस गर्नुभएको आर्थिक प्रशासन एवं शिक्षक–कर्मचारी सेवा सर्त नियमावली, २०८२ तथा सहायक क्याम्पस प्रमुख रामनाथ उपाध्यायले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण प्रतिवेदन र २०८३ सालको वार्षिक प्रतिवेदनमाथि छलफल गरिएको थियो।

    त्यसैगरी, आर्थिक वर्ष २०८३/०८४ को अनुमानित वार्षिक बजेटसमेत सभाले पारित गरेको छ। सभामा प्रस्तुत प्रतिवेदन तथा नियमावलीमाथि छलफल गर्दै क्याम्पसको भावी कार्यदिशा, शैक्षिक गतिविधिको प्रभावकारिता, प्रशासनिक व्यवस्थापन र संस्थागत विकासलाई थप व्यवस्थित बनाउने विषयमा समेत विचारविमर्श गरिएको थियो। कार्यक्रमको सञ्चालन क्याम्पस प्रमुख गोपालप्रसाद चापागाईंले गर्नुभएको थियो।

      



    lumbinisanjal   
  • २०८३ आश्विन २४, शनिबार १२:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP