• २०८३ श्रावण १३ | Wed, 29 Jul 2026
  • Dark Mode

          Subscribe

    रुपन्देहीमा पहिलोपटक किङ कोब्रा फेला, तीन घण्टाको प्रयासमा उद्धार

    • lumbinisanjal
    • २०८२ कार्तिक २७, बिहीबार १०:३१
    4.7K
    SHARES
    रुपन्देहीमा पहिलोपटक किङ कोब्रा फेला, तीन घण्टाको प्रयासमा उद्धार

    बुटवल, २७ कार्तिक । पहाडी क्षेत्रमा मात्र पाइने किङ कोब्रा (राज गोमन) सर्प तराईको रूपन्देहीमा पहिलोपटक फेला परेको छ ।

    रुपन्देहीको देवदह नगरपालिका–१० चरङ्गेकी लेमकुमारी रानामगरको घरमा सो दुर्लभ सर्प देखिएको हो । घरमा अचम्मको रूपमा देखिएको लामो र ठूलो सर्प देखेपछि राना परिवारले तत्काल सर्प उद्धारकर्तालाई खबर गरेका थिए ।

    सर्प उद्धारकर्ता विशाल पाण्डेका अनुसार चरङ्गेमा फेला परेको किङ कोब्रा १२ फिट ३ इन्च लामो र ७ किलो २०० ग्राम तौलको रहेको छ । पाण्डेको नेतृत्वमा बुटवल स्नेक रेस्क्यु टिमका नवीन पौडेल, सागर पाण्डे, विश्वास पाण्डेलगायतको टोलीले तीन घण्टा लामो प्रयासपछि सर्प सुरक्षित रूपमा समातेका थिए ।

    उद्धारपछि किङ कोब्रालाई डिभिजन वन कार्यालयको रोहरबरमा सर्जमिन गरी जिल्लाकै घना जंगल क्षेत्रमा सुरक्षित रूपमा छोडिएको देवदह–१० का वडाअध्यक्ष एकबहादुर सुनारले जानकारी दिए ।

    नेपालमा अत्यन्त दुर्लभ मानिने यो प्रजाति पछिल्ला वर्षहरूमा मध्यपहाडी क्षेत्रमा मात्र देखिँदै आएको छ । विषालु प्रजातिमा पर्ने भए पनि नेपालमा यसले मानिसलाई डसेको कुनै घटना नघटेको सर्प विज्ञहरूको भनाइ छ ।

    सर्प उद्धारकर्ता नवीन पौडेलका अनुसार नेपालमा पाइने ८२ प्रजातिका सर्पमध्ये किङ कोब्राको संख्या अत्यन्त न्यून छ । “यो सर्प अन्य सर्पलाई नै आहाराका रूपमा खान्छ,” पौडेलले बताए ।

    १४ वर्षअघि बुटवलको फूलबारी क्षेत्रमा मृत अवस्थाको एक किङ कोब्रा फेला परेको र त्यसपछि पहिलोपटक जिउँदो अवस्थामा रूपन्देहीमा देखिएको बताइएको छ ।

    सर्प उद्धारकर्ता विशाल पाण्डे नेतृत्वको टोलीले यस वर्ष वैशाख महिनायता रूपन्देहीको तिलोत्तमास्थित एक घरबाट २३ वटा कमन कोब्रा, ६ वटा रसल्स भाइपरसहित ४०० बढी विषालु सर्प उद्धार गरी सुरक्षित स्थानमा छोडिसकेको जनाएको छ ।

     



    lumbinisanjal   
  • २०८२ कार्तिक २७, बिहीबार १०:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP