• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम सुनवाइ कार्कीको इजलासमा

    • lumbinisanjal
    • २०८२ भाद्र १८, बुधबार १३:१८
    2.6K
    SHARES
    नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम सुनवाइ कार्कीको इजलासमा

    काठमाडौं , १८ भदौ । नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम सुनवाइ काठमाडौं जिल्ला अदालतमा सुरु भएको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै सयौँ नागरिक ठगिएको प्रकरणको अन्तिम सुनवाइ सुरु भएको हो । मुद्दा न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा रहेको छ । यो मुद्दामा ३३ जना प्रतिवादी रहेका छन् ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस र एमालेका वरिष्ठ नेताहरू नै जोडिएका छन् । एमालेका सचिव टोपबहादुर रायमाझी पुर्पक्षका लागि जेलमा रहेका छन् । कांग्रेस नेता बालकृष्ण खाँण भने धरौटीमा छुटेका छन् । अन्य अभियुक्तहरू कारागारमै छन् ।

    नक्कली भुटानी शरणर्थाी ठगी प्रकरणको उजुरी नेपाल प्रहरीमा परेपछि अनुसन्धान सुरु भएको थियो । तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले उक्त अनुसन्धानलाई अघि बढाउन प्रहरीलाई साथ दिएका थिए ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान अघि बढाउने क्रममा एमाले सचिव रायमाझी र कांग्रेसका खाँणसहित पूर्वगृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजीत राईसहित हाइप्रोफाइलका व्यक्तिहरू पक्राउ परेका छन् । यो प्रकरणमा तीन चरणमा गरी ठगी, राज्यविरुद्धको कसुर र संगठित अपराधलगायतको कसुर लगाइएको थियो ।

    ३० जेठ २०७६ मा गृहमन्त्री रामबहादुर थापाले पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वमा भुटानी शरणार्थी समस्या समाधानका लागि अध्ययन कार्यदल बनाएका थिए । उक्त अध्ययन कार्यदलले गठनपछि र प्रतिवेदन तयार भएपछि नै नक्कली भुटानी शरणार्थी बनाउने प्रयास भएको प्रहरी अनुसन्धानमा खुलेको थियो । उक्त प्रकरणमा सचिव रहेका पाण्डे नै सक्रिय रहेको पनि खुलेको थियो ।

    कार्यदलको प्रतिवेदनमा भुटानी शरणार्थीको सूचीमा नक्कली नाम समावेश गरी अमेरिका पठाउन रकम असुल गरिएको पोल खुलेको थियो । यो काम तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको पालामा भएको थियो ।



    lumbinisanjal   
  • २०८२ भाद्र १८, बुधबार १३:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP