• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    काठमाडौं महानगरबाट योग प्रशिक्षण र शक्‍तिवर्द्धक औषधि निःशुल्क वितरण

    • lumbinisanjal
    • २०८२ जेष्ठ ९, शुक्रबार १०:३९
    1.6K
    SHARES
    काठमाडौं महानगरबाट योग प्रशिक्षण र शक्‍तिवर्द्धक औषधि निःशुल्क वितरण

    काठमाडौं,९ जेठ । शारीरिक अवस्था र रोग अनुसार योग गर्न प्रोत्साहित गर्न काठमाडौं महानगरपालिकाले योग शिविर सञ्चालन गरेको छ । ‘आरोग्य जीवन’ स्वर्णिम योजनाअन्तर्गत शिविर सञ्चालन गरिएको महानगरले जनाएको छ ।

    कार्यक्रमअन्तर्गत एक ठाउँमा ५ दिन शिविर चलाउने महानगरको स्वास्थ्य विभागले जानकारी दिएको छ । वैशाख १४ गते पहिलो शिविर काठमाडौं– १४ बाट थालिएको थियो भने दोस्रो शिविर वैशाख २१ गते काठमाडौं– १२ र काठमाडौं– १५ मा वैशाख ३० मा सम्पन्न भएको थियो ।

    गत सोमबार धरहरामा परिसरमा सुरु भएको शिविर शुक्रबार सकिएको स्वास्थ्य विभागले जानकारी दिएको छ ।

    अबको शिविर काठमाडौं– ३१ र २३ मा आयोजना हुने महानगरले जानकारी दिएको छ ।

    शिविरको अन्तिम दिन (पाँचौँ) दिन रक्तचाप र मधुमेहको परीक्षण गरेर निःशुल्क शक्‍तिवर्द्धक औषधि प्रदान गर्ने गरिएको वरिष्ठ वैद्य पार्वती रावलले जानकारी दिइन् । यसरी प्रदान गरिने औषधिहरू त्रिफला चूर्ण, अश्वगन्धा, च्यवनप्रास, आमलकी, महानारायण तेललगायत छन् ।

    वैद्य मञ्जुश्री ठाकुरका अनुसार परीक्षण गरिएका व्यक्तिहरूमा रक्तचाप आम मानिसको साझा समस्या जस्तै देखिएको छ ।

    परीक्षणपछि डाक्टरहरूबाट आहार, विहार, आचार, विचारसँग रोगको सम्बन्ध, शारीरिक तथा मानसिक स्वास्थ्यका लागि जीवनशैलीको सम्बन्धका विषयमा परामर्श गरिन्छ ।

    कार्यक्रमअन्तर्गत वडाहरूमा योग प्रशिक्षण नियमित सञ्चालन गर्न योग प्रशिक्षक प्रशिक्षण, व्यायाम व्यवसायीमार्फत खुला स्थानमा शारीरिक अभ्यासको प्रवर्द्धन लगायत कार्यक्रम सञ्चालन गरिसकेको छ ।

    रोगबाट थलिनुअघि नै निरोगी हुने बाटो समाउन प्रोत्साहित गर्नु कार्यक्रमका मुख्य क्रियाकलाप हुन् । स्वास्थ्योपचारमा हुने खर्च र यस समयमा परिवारले भोग्नु पर्ने मानसिक पीडाबाट नागरिकको आर्थिक, शारीरिक तथा मानसिक अवस्थालाई क्षति हुनबाट बचाउने उद्देश्यसहित कार्यक्रम थालिएको महानगरले जनाएको छ ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ ९, शुक्रबार १०:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP