• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    एक वर्षमा थोराङ्ला पास भएर ११ हजारभन्दा बढी विदेशी पर्यटक मुस्ताङ भित्रिए

    • lumbinisanjal
    • २०८३ श्रावण ५, मंगलवार १९:३४
    143
    SHARES
    एक वर्षमा थोराङ्ला पास भएर ११ हजारभन्दा बढी विदेशी पर्यटक मुस्ताङ भित्रिए

    मुक्तिनाथ । विश्वप्रख्यात अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत थोराङ्ला पास भएर एक वर्षमा ११ हजारभन्दा बढी विदेशी पर्यटकले पदयात्रा गरेका छन्। गण्डकी प्रदेशका पाँच जिल्ला समेटिएको पदमार्गको समुद्र सतहदेखि पाँच हजार चार सय १६ मिटर उचाइमा रहेको थोराङ्ला भएर गत आर्थिक वर्ष २०८२/८३ मा ११ हजार आठ सय छ जना विदेशी पर्यटक मुस्ताङ प्रवेश गरेका हुन्।

    मनाङबाट थोराङ्ला पास हुँदै मुस्ताङसम्मको करिब पाँच दिनको यात्रामा सार्क राष्ट्रबाट पुरुष तीन सय २५ जना, महिला ७९ जना, तेस्रो मुलुकबाट छ हजार चार सय ४६ पुरुष, चार हजार नौ सय ५४ महिला र अन्य दुई जना रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय जोमसोमका प्रमुख राजेश गुप्ताले बताउनुभयो।

    गुप्ताका अनुसार यस पदमार्गमा जाडो याममा पनि विदेशी पर्यटकको आवतजावत नियमित रहने गरेको छ। नेपाली पर्यटकले पनि पदयात्राका लागि यो मार्ग रोज्ने गरे पनि उनीहरूको तथ्याङ्क राख्ने गरिएको छैन। थोराङ्ला पास अन्नपूर्ण चक्रीय पदमार्गकै सबैभन्दा उच्च स्थानमा रहेकाले साहसिक पदयात्राका लागि विदेशीको पहिलो रोजाइमा पर्ने गरेको छ। पदयात्राका क्रममा पदप्रदर्शकबाहेक पाँच हजार सात सय ३९ जना भरियाले समेत एक वर्षको अवधिमा रोजगारी पाएका छन्।

    अन्नपूर्ण चक्रीय पदमार्गको प्रवेशविन्दु लमजुङको बेँसीसहरबाट २१ दिन लाग्ने थोराङ्ला पासको यात्रा सडक सञ्जालका कारण अहिले एक सातामै सकिने गरेको छ। पदयात्रा छोटिएपछि विदेशी पर्यटकहरू अन्य नयाँ पदमार्गको यात्रामा जाने गरेका छन्।

    थोराङ्ला पुग्न मनाङका याकखर्क, लेदर, थोराङ फेदी र हाइक्याम्प हुँदै जाने गरिन्छ। मनाङको चामेदेखि पाँच दिनको यात्रा गरेर थोराङ्ला हुँदै मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१, मुक्तिनाथ क्षेत्र पुगेपछि यो महत्त्वपूर्ण यात्रा टुङ्गिन्छ।

    मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु लालचनका अनुसार तिलिचो यात्रा हुँदै थोराङ्ला पास गरेर मुक्तिनाथ आउने बाटोलाई सबैभन्दा साहसिक मानिन्छ। “सडकले पुरानो पदमार्ग मास्दा विदेशी पर्यटकको यात्रा छोटिएको छ, थोराङ्लाको यात्रा लम्ब्याउन अब सडक सञ्जाललाई व्यवस्थित र खुम्च्याउनुपर्छ,” लालचनले भन्नुभयो। याकखर्क, थोराङ फेदी र थोराङ हाइक्याम्पसम्मको पदयात्रालाई विदेशी पर्यटकले निकै आकर्षक मान्ने भएकाले यस क्षेत्रमा पर्यटकका लागि थप सुविधा विस्तार गर्नुपर्ने उहाँको भनाइ छ।

    मुस्ताङमा छिमेकी जिल्ला म्याग्दीमा रहेको धवलागिरि हिमाल हुँदै घरपझोङ गाउँपालिका–२, मार्फा जोड्ने ‘राउन्ड धवलागिरि’ र उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४, यारा हुँदै मनाङ जोड्ने चिनियाँ तिब्बती सीमा नजिकै पर्ने सरिबुङ पास पनि विदेशी पर्यटकको रोजाइमा छन्।

    मुस्ताङलाई जोड्ने तीनवटै पदमार्गमध्ये थोराङ्ला पासमा सबैभन्दा धेरै चहलपहल हुने गर्छ। सन् १९७० मा पदयात्राका लागि खुला गरिएको थोराङ्ला क्षेत्र पछिल्लो समय विदेशीसँगै नेपाली पर्यटकको पनि रोजाइमा परेको छ। वैशाख, जेठ, असोज र कात्तिक महिनामा नेपाली पर्यटक बढी पुग्ने गर्छन् भने विदेशी पर्यटक पर्यटकीय सिजनबाहेकका समयमा पनि यात्रा गर्छन्।



    lumbinisanjal   
  • २०८३ श्रावण ५, मंगलवार १९:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP