• २०८३ श्रावण १४ | Thu, 30 Jul 2026
  • Dark Mode

          Subscribe

    हाइड्रो-टुरिजमको नयाँ गन्तव्य बन्दै मौलाकालिका जलविद्युत् आयोजना, मन्त्री श्रेष्ठद्वारा स्थलगत अवलोकन

    • lumbinisanjal
    • २०८३ असार १५, सोमबार ०९:३०
    767
    SHARES
    हाइड्रो-टुरिजमको नयाँ गन्तव्य बन्दै मौलाकालिका जलविद्युत् आयोजना, मन्त्री श्रेष्ठद्वारा स्थलगत अवलोकन

    बुटवल , १५ असार । नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ ले हाइड्रो-टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गरेका छन्।

    तनहुँ र नवलपुर जिल्लाको सीमाबाट बग्ने कालीगण्डकी नदीमा निर्माणाधीन ४७.७ मेगावाट क्षमताको यो आयोजना देवघाटको साँधे बगर क्षेत्रमा निर्माण भइरहेको हो। निर्माण सुरु भएको करिब ६ महिनामै आयोजनाले ३० प्रतिशतभन्दा बढी भौतिक प्रगति हासिल गरेको कम्पनीले जनाएको छ।

    अवलोकनका क्रममा मन्त्री श्रेष्ठले ऊर्जा उत्पादनसँगै पर्यटन प्रवर्द्धनलाई जोड्ने अवधारणामा अघि बढाइएको यो आयोजना नेपालका लागि उदाहरणीय बन्न सक्ने बताए। उनले समयमै गुणस्तरीय रूपमा निर्माण सम्पन्न गरी राष्ट्रिय ऊर्जा सुरक्षामा योगदान पुर्‍याउन सरकार आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको उल्लेख गरे। जलविद्युत् आयोजनालाई पर्यटनसँग जोड्ने प्रयासले स्थानीय रोजगारी, आर्थिक गतिविधि र क्षेत्रीय विकासमा समेत महत्वपूर्ण टेवा पुग्ने उनको भनाइ थियो।

    मौलाकालिका हाइड्रोपावर कम्पनी लिमिटेडका अध्यक्ष कृष्णप्रसाद सुवेदीका अनुसार आगामी दुई वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यका साथ तीव्र गतिमा निर्माण कार्य भइरहेको छ। आयोजना सम्पन्न भएपछि यहाँ उत्पादित विद्युत् चितवनको न्यु भरतपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ।

    ड्याम-टु-टो अवधारणामा आधारित यस आयोजनाअन्तर्गत १८ मिटर अग्लो बाँध निर्माण गरिनेछ। बाँध निर्माणपछि अपस्ट्रिमतर्फ कालीगण्डकी नदीमा करिब १५ किलोमिटर लामो जलाशय बन्नेछ, जहाँ सुविधा सम्पन्न क्रुज सेवा सञ्चालन गर्ने कम्पनीको योजना रहेको छ।

    अध्यक्ष सुवेदीका अनुसार बाँधको माथिल्लो भागबाट करिब ३० मिटर उचाइबाट झरनाजस्तै पानी झर्ने आकर्षक दृश्य अवलोकन गर्न मिल्ने गरी पाँचतारे स्तरको होटलसमेत निर्माणाधीन अवस्थामा छ। जलाशय, क्रुज सेवा, होटल तथा प्राकृतिक सौन्दर्यलाई समेट्दै यो आयोजना ऊर्जा उत्पादनसँगै पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिइएको उनले बताए।

    आयोजना पूर्ण रूपमा सञ्चालनमा आएपछि नेपालकै नमूना हाइड्रो-टुरिजम परियोजनाका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ। यसले विद्युत् उत्पादनसँगै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्दै स्थानीय अर्थतन्त्रलाई समेत नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।



    lumbinisanjal   
  • २०८३ असार १५, सोमबार ०९:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP