• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    भिजन लुम्बिनीको ठूलो योजना : तिनाउमा ‘नमः बुद्ध’ हाइड्रोपावर निर्माण हुँदै

    • lumbinisanjal
    • २०८३ बैशाख १८, शुक्रबार ००:२२
    377
    SHARES
    भिजन लुम्बिनीको ठूलो योजना : तिनाउमा ‘नमः बुद्ध’ हाइड्रोपावर निर्माण हुँदै

    बुटवल, १८ वैशाख । भिजन लुम्बिनी लिमिटेडले पाल्पाको तिनाउ गाउँपालिका–झुम्सा नजिक तिनाउ खोलामा ३.४४ मेगावाट क्षमताको ‘नमः बुद्ध’ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ। करिब ७० करोड रुपैयाँ लागतमा बन्ने उक्त आयोजना १५ महिनाभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

    बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमार्फत कम्पनीले आयोजनाबारे जानकारी दिँदै नमः बुद्ध हाइड्रो प्रालिमार्फत निर्माण कार्य अघि बढाइने जनाएको हो। आयोजनाका लागि लुम्बिनी विकास बैंकसँग लगानी सम्झौता भइसकेको र वित्तीय स्रोत सुनिश्चित भएको कम्पनीले जनाएको छ।

    भिजन ग्रुप अफ कम्पनीका अध्यक्ष जगतबहादुर पोख्रेलले सामूहिक लगानी नै समृद्धिको आधार भएकाले तिनाउमा जलविद्युत आयोजना अघि बढाइएको बताउनुभयो। उहाँका अनुसार आयोजनामा बैंक तथा वित्तीय संस्था र कम्पनीको ५०–५० प्रतिशत लगानी रहनेछ।
    अध्यक्ष पोख्रेलले पाल्पा र रुपन्देहीका बासिन्दालाई आयोजनामा लगानी गर्न आग्रह गर्दै यो परियोजना स्थानीयकै सम्पत्ति भएको उल्लेख गर्नुभयो। “बुटवलबासीका लागि यो राम्रो लगानी अवसर हो,” उहाँले भन्नुभयो, “हामीले यसअघि विभिन्न १२ वटा आयोजना सफलतापूर्वक सम्पन्न गरिसकेका छौँ, यो आयोजना पनि छिट्टै सम्पन्न हुनेछ।”

    हाल कम्पनीको लगानी करिब १४ करोड रुपैयाँ रहेको र राइट शेयर तथा आईपीओ निष्कासनपछि पूँजी ५१ करोड रुपैयाँ पुग्ने जानकारी दिइएको छ। आयोजनाको प्राविधिक, वातावरणीय तथा अन्य आवश्यक अध्ययन पूरा भइसकेको र अब निर्माण शिलान्यासको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ।

    भिजन लुम्बिनीले यसअघि कास्कीको पोखरामा २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजना सञ्चालनमा ल्याइसकेको छ। कम्पनीले बज्रमादी (३१ मेगावाट), चमेलिया (२० मेगावाट) लगायत हाल १२ वटा ठूला परियोजनामा लगानी गर्दै काम गरिरहेको जनाएको छ। कम्पनीका बोर्ड सदस्य राजीव गौतमले महाकाली र कर्णाली क्षेत्रमा समेत ठूला जलविद्युत आयोजना निर्माण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।

    साना–साना लगानीकर्तालाई समेटेर स्थापना गरिएको भिजन लुम्बिनीले जलविद्युतसँगै हस्पिटालिटी, कृषि, शिक्षा, बीमा, वित्त, रियल स्टेट र आईटी क्षेत्रमा समेत लगानी विस्तार गरिसकेको छ।
    २०७३ सालमा स्थापना भएको कम्पनीले कर्पोरेट संस्कार र विधिको शासनलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको संचालक कुलबहादुर केसीले बताउनुभयो।
    कार्यक्रममा लगानीकर्ता योगेश घिमिरे, अनुपमान सैजू, गोविन्दप्रसाद लामिछाने तथा व्यवस्थापक सरस्वती पोखरेल लगायतले आयोजनामा सबैको साथ आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।



    lumbinisanjal   
  • २०८३ बैशाख १८, शुक्रबार ००:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP