• २०८३ असार ३२ | Thu, 16 Jul 2026
  • Dark Mode

          Subscribe

    दूधमा आत्मनिर्भर बन्दै बागलुङ

    • lumbinisanjal
    • २०८३ असार १४, आईतवार ११:१५
    351
    SHARES
    दूधमा आत्मनिर्भर बन्दै बागलुङ

    बलेवा,१४ असार । दश वर्षपहिले मलेसियाको रोजगारीबाट फर्किएका बागलुङ नगरपालिका-१२ लिलाधर शर्मा अहिले गाउँमा गाई फार्म सञ्चालन गर्दै आएका छन् । स्वदेशमै मेहनत गर्दा मनग्य आम्दानी गर्न सकिन्छ लागेर सुरु गरेको व्यवसायले उनलाई व्यावसायिक दूध उत्पादक किसान बनाएको छ ।

    शर्माको फार्ममा अहिले २५ वटा माउ गाई छन् भने केही साना बाच्छा र भैँसी पनि छन् । उनले गाउँमा दूध उत्पादन गरेर बागलुङ बजारमा बिक्री केन्द्र पनि सञ्चालन गरेका छन् ।

    चार वर्ष साउदीअरेबिया बसेर फर्किएका जैमिनी नगरपालिका नगरपालिका–१ कुश्मीशेराका विकास पौडेलको गोठ पनि दुधालु गाईले भरिभराउ छ । व्यावसायिक दूध उत्पादक किसान बनेका उनको दम्पतीलाई अहिले दूधको उत्पादन र बिक्रीमा भ्याइनभ्याइ छ ।

    पौडेल र शर्मा मात्रै होइन पछिल्लो समय विदेशका दुःख सम्झेर गाउँ फर्किने र विदेश जान नचाहने युवाहरू व्यावसायिक कृषि उत्पादनमा लाग्न थालेका छन् ।

    विदेश जानुभन्दा स्वदेशमा बसेर आम्दानी गर्न सकिन्छ भनेर बागलुङका किसान व्यवसायिक पशुपालनमा लाग्न थालेका हुन् । गाईभैँँसी पाल्ने किसानलाई स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट अनुदान, उपचार र प्राविधिक सहयोग उपलब्ध हुन थालेपछि किसान थप हौसिएका छन् ।

    बागलुङमा वार्षिक २३ हजार १५७ मेट्रिक टन दूध उत्पादन हुने गरेको जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले जनाएको छ । व्यावसायिक किसानको सङ्ख्या बढेसँगै बागलुङ दूध उत्पादनमा आत्मनिर्भर बनेको केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाले बताए ।

    व्यावसायिक किसानलाई स्थानीय सरकारले सहयोग गर्ने र सङ्घीय तथा प्रदेश सरकारका किसान लक्षित कार्यक्रम किसानसँगै पुग्ने भएकाले दूधको उत्पादन पनि बढेको प्रमुख सापकोटाले बताए । आवश्यकताभन्दा बढी उत्पादन भइरहेको दूध छिमेकी जिल्लामा निर्यात हुने गरेको केन्द्रले जनाएको छ ।

    जिल्लाको दक्षिण क्षेत्रबाट छिमेकी जिल्ला पर्वत र पश्चिम क्षेत्रबाट छिमेकी गुल्मीमा दूध निर्यात हुने गरेको तथ्याङ्क रहेको प्रमुख डा सापकोटाले बताए । केही वर्ष पहिलासम्म पोखराबाट दूध ल्याएर बिक्री गर्दै आएका व्यापारी अहिले भने किसानको घरबाट सिधै खरिद गरी डेरी पसलमा ल्याउने गरेका छन् ।

    जिल्लामा १५ वटा सहकारीबाट दूध बिक्री हुँदै आएको छ । यहाँका किसानले व्यक्तिगत, समूहगत र सहकारीमार्फत गाई, भैँसीपालन गरी दूध उत्पादन गर्दै आएका जिल्ला दुग्ध सहकारी सङ्घका अध्यक्ष दीपक गौतमले बताए । बजारमा स्थानीय उत्पादनले पर्याप्त हुने गरेको उनको भनाइ छ ।

    जिल्लाभर ८६ हजार ९२० भैँसी र २१ हजार ६६० गाईपालन भइरहेको केन्द्रका प्रमुख डा सापकोटाले जानकारी दिए ।

    व्यावसायिक र घरायसी प्रयोजनलाई पालिएका पशुचौपायको समेत तथ्याङ्क निकालेर केन्द्रले दूधको उत्पादनको मूल्याङ्कन गर्दै आएको उनले बताए ।

    केन्द्रका प्रमुख डा सापकोटाका अनुसार यहाँ मुर्रा, स्थानीय क्रस, जर्सी, होलस्टेन जातका गाईपालन हुँदै आएको छ ।

    ग्रामीण भेगसम्म सडकको सहज पहुँच, यातायातको सुविधा, उचित मूल्य, स्थानीय तहको उत्पादनमा आधारित अनुदान, घाँस तथा परालको उपलब्धतालगायत कारणले किसानलाई पशुपालनमा व्यावसायिक बनाउन सहयोग पुगेको किसान विकास पौडेलले बताए ।

    उनका अनुसार हाल बजारमा दूधको मूल्य थोकमा ७० देखि ९० तथा खुद्रा एक सयदेखि १२० रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ । रासस



    lumbinisanjal   
  • २०८३ असार १४, आईतवार ११:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP