• २०८३ भाद्र ८ | Mon, 24 Aug 2026
  • Dark Mode

          Subscribe

    नवीन औद्योगिक माविमा अभिमुखीकरण: कुलतबाट टाढा रहन सीडीओको आग्रह

    • lumbinisanjal
    • २०८३ असार १२, शुक्रबार १८:४०
    390
    SHARES
    नवीन औद्योगिक माविमा अभिमुखीकरण: कुलतबाट टाढा रहन सीडीओको आग्रह

    बुटवल, १२ असार । बुटवलस्थित नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय, देवीनगरमा व्यवस्थापन समूहअन्तर्गत होटल व्यवस्थापन, कानुन र शिक्षा संकायमा कक्षा ११ मा अध्ययनरत नवआगन्तुक विद्यार्थीहरूका लागि शुक्रबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

    कार्यक्रमका प्रमुख अतिथि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा विद्यालयको शैक्षिक वातावरण, अनुशासन र व्यक्तिगत मेहनत निर्णायक हुने बताउनुभयो। उहाँले समाजमा भइरहेका सकारात्मक तथा नकारात्मक गतिविधिबाट सिक्दै आफू सही बाटोमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

    प्रमुख जिल्ला अधिकारी अर्यालले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग, कुलत, लागुऔषध सेवन तथा त्यसपछि हुने दुर्घटनाले धेरै युवाको जीवन र परिवार नै संकटमा परेको उल्लेख गर्दै विद्यार्थीहरूलाई यस्ता विकृति–विसङ्गतिविरुद्ध सचेत बन्न र समाज परिवर्तनका संवाहकको भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।

    त्यसैगरी डेडीज किचनका निर्देशक कमलजंग कुँवरले कुनै पनि काम सानो वा ठूलो नहुने उल्लेख गर्दै अनुशासन, निरन्तरता र स्पष्ट लक्ष्यका साथ अघि बढ्ने व्यक्ति नै सफल हुने बताउनुभयो। समाजले के भन्छ भन्नेभन्दा आफूले के बन्ने भन्ने लक्ष्य निर्धारण गरेर दीर्घकालीन रूपमा मेहनत गर्न सके सफलता निश्चित हुने उहाँको भनाइ थियो।

    विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले विद्यालयको भौतिक, आर्थिक, व्यवस्थापकीय तथा शैक्षिक अवस्थाबारे जानकारी गराउँदै गुणस्तरीय शिक्षाका लागि विद्यालय निरन्तर प्रतिबद्ध रहेको बताउनुभयो। सहायक प्रधानाध्यापक अर्जुन खनालले विद्यार्थी आचारसंहिता–२०८३, अनुशासन, पठनपाठन तथा परीक्षा प्रणालीबारे सहजीकरण गर्नुभएको थियो।

    बुटवल उपमहानगरपालिका–११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कक्षा १२ व्यवस्थापन समूहकी विद्यार्थी ऋतिका चौधरीले गर्नुभएको थियो। कार्यक्रममा नवआगन्तुक विद्यार्थीहरूलाई विद्यालयको शैक्षिक वातावरण, अनुशासन, अवसर र जिम्मेवारीबारे जानकारी गराउँदै लक्ष्यमुखी, अनुशासित र जिम्मेवार नागरिक बन्न प्रेरित गरिएको विद्यालयले जनाएको छ।



    lumbinisanjal   
  • २०८३ असार १२, शुक्रबार १८:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP