• २०८३ भाद्र ८ | Mon, 24 Aug 2026
  • Dark Mode

          Subscribe

    बालेन सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन: केपी ओली

    • lumbinisanjal
    • २०८३ भाद्र ६, शनिबार १५:२९
    104
    SHARES
    बालेन सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन: केपी ओली

    काठमाडौं ।नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार पाँच वर्ष नटिक्ने दाबी गरेका छन्।

    शनिबार भक्तपुरको नगरकोटमा सुरु भएको एमालेको ‘जनसंगठत समन्वय संयन्त्र कार्याशाला’लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार विदेशीको आडभरोसमा चलेको आरोप लगाए। ‘यो कुन शक्तिको आडभरोसामा चलेको छ मतलब छैन। यी तत्त्वहरूसँग हामी डराउँदैनौँ, डराउनुहुन्न,’ ओलीले भने।

    उनले हाटहुट गरेर बहुमत ल्याइएको दाबी गरे। बहुमत भए पनि बालेन सरकार पाँच वर्ष नटिक्ने उनको दाबी थियो।

    ‘हाटहुट, लाटलुट, जनतालाई तर्साएर, थर्काएर, बोल्न नसक्ने बनाएर, जेसुकै गरेर, बाकस साटेर ल्याएर, बहुमत ल्याएको देखाइयो,’ अध्यक्ष ओलीले थपे, ‘यो सरकार तपाईंहरूलाई भन्दिएँ- पाँच वर्ष कुनै हालतमा जाँदैन।’

    अहिले संविधान मिचिएको उनको भनाइ थियो। लोकतन्त्रलाई फिर्ता ल्याउनुपर्नेमा उनले जोड दिए। ‘लोकतन्त्र अपहरित भएको छ, संविधान मिचिएको छ। अपहरित लोकतन्त्रलाई फेरि फिर्ता ल्याउनुछ,’ ओलीले भने।

    सरकार र समर्थकहरूले त्रास सिर्जना गरिरहेको उनको जिकिर छ। सामाजिक सञ्जालमा बोल्दा हुल्याहाहरूले आक्रमण गरिरहेको उनले बताए।

    ‘हरेकको मनमा त्रास छ। एउटा स्टाटस लेख्नुस् त कति गाली आउँछ, त्रास छ,’ ओलीले थपे, ‘सही स्टाटस लेख्नुस्, सही कुरा बोल्नै हुँदैन। हुल्याहाहरूको आक्रमण सुरु भइहाल्छ।’

    उनले सत्य कुरा बोल्न डराउन नहुने बताए। सत्यका पक्षमा, जनताका पक्षमा, जनजीविकाका पक्षमा बोल्न निर्देशन दिए।

    एमाले बागमती प्रदेश जनसम्पर्क समन्वय संयन्त्रले कार्याशाला आयोजना गरेको हो। कार्यशालामा एमाले जनसम्पर्क समन्वय संयन्त्रका नेता तथा कार्यकर्ता सहभागी छन्। यो कार्याशाला दुई दिनसम्म चल्नेछ।



    lumbinisanjal   
  • २०८३ भाद्र ६, शनिबार १५:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP