• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    आफ्नै शहरलाई चिनाउने अभियान: विद्यार्थीमा बढ्दै इतिहासप्रतिको चासो

    • lumbinisanjal
    • २०८३ बैशाख ३१, बिहीबार ०८:४९
    624
    SHARES
    आफ्नै शहरलाई चिनाउने अभियान: विद्यार्थीमा बढ्दै इतिहासप्रतिको चासो

    इतिहासको ऐनामा बुटवल: इन्टलेक्च्युअल एकेडेमीमा सुरु भयो ‘हामी बस्ने शहरको कथा’

    बुटवल,३१ वैशाख । हामी जन्मिएको, हुर्किएको र दैनिक जीवन बिताइरहेको शहरको इतिहास, संस्कृति र पहिचानबारे नयाँ पुस्ताले कति बुझेका छन्? यही प्रश्नलाई केन्द्रमा राख्दै बुटवलस्थित इन्टलेक्च्युअल एकेडेमीले “हामी बस्ने शहरको कथा” नामक विशेष शैक्षिक कार्यक्रम सुरु गरेको छ। कार्यक्रमको पहिलो शृङ्खला बुधबार सम्पन्न भएको हो।

    देवेन्द्रराज शाक्यले सुनाए बुटवलको ऐतिहासिक कथा
    पहिलो शृङ्खलामा अध्येता तथा वरिष्ठ साहित्यकार देवेन्द्रराज शाक्य ले बुटवलको ऐतिहासिक पृष्ठभूमि, सांस्कृतिक विकास र पुरानो व्यापारिक महत्वबारे विस्तृत प्रस्तुति दिनुभयो। उहाँले जितगढी युद्धको ऐतिहासिक महत्वदेखि बुटवलको पुरानो व्यापारिक संरचना, सामाजिक परिवेश तथा नामाकरणसँग जोडिएका रोचक प्रसङ्गहरू प्रस्तुत गर्नुभयो।

    नुन, कपडा, अन्न र जडीबुटीको व्यापारिक केन्द्रका रूपमा बुटवलले खेलेको भूमिकाबारे चर्चा गर्दा विद्यार्थीहरू निकै उत्साहित देखिएका थिए। उहाँले इतिहासलाई केवल विगतको दस्तावेज नभई भविष्य निर्माणको आधारशिला भएको उल्लेख गर्दै नयाँ पुस्तालाई आफ्नै शहरको इतिहास पढ्न, बुझ्न र संरक्षण गर्न आग्रह गर्नुभयो।
    “इतिहास केवल बितेको समयको फेहरिस्त होइन, उज्ज्वल भविष्य निर्माणको आधारशिला पनि हो,” शाक्यले भन्नुभयो।

    स्थान–आधारित शिक्षणको अभ्यास
    विद्यालयका प्रबन्ध निर्देशक रामराज पोख्रेलका अनुसार कार्यक्रम “Place-Based Learning” र “Story-Centered Pedagogy” मा आधारित आधुनिक शिक्षण अभ्यास हो। पाठ्यपुस्तकभन्दा बाहिर रहेका स्थानीय ज्ञान, संस्कृति र ऐतिहासिक चेतनालाई विद्यार्थीहरूसम्म पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो।

    विद्यार्थीमा जाग्यो बुटवलप्रतिको गर्व
    शिक्षक सुभास भण्डारी ले सञ्चालन गर्नुभएको कार्यक्रममा सहभागी विद्यार्थीहरूले यसलाई “बुटवललाई नयाँ दृष्टिकोणबाट चिन्ने अवसर” का रूपमा लिएका छन्। कक्षा ९ का विद्यार्थी रोनित ज्ञवालीले बुटवलमा यति धेरै इतिहास रहेको थाहा नभएको बताउँदै कार्यक्रमपछि आफ्नो शहरप्रति अझ बढी माया र सम्मान जागेको अनुभव सुनाए। त्यसैगरी कक्षा १० की छात्रा श्रेया गैरेले जितगढी युद्धको वीरगाथाले आफूलाई निकै प्रभावित बनाएको बताइन्।

    आगामी शृङ्खलामा व्यापार र समृद्धिको कथा
    विद्यालय प्रशासनका अनुसार कार्यक्रमको आगामी शृङ्खला अझ रोचक बनाइनेछ। “बुटवल: पश्चिम नेपालको व्यापारिक केन्द्र किन र कसरी?” तथा “बाजेको पालादेखि Gen-Z सम्मको समृद्धिको यात्रा” विषयमा विशेष प्रस्तुति गरिने तयारी गरिएको छ।



    lumbinisanjal   
  • २०८३ बैशाख ३१, बिहीबार ०८:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP