• २०८३ श्रावण १३ | Wed, 29 Jul 2026
  • Dark Mode

          Subscribe

    रुपन्देही–२ मा काँग्रेसको ‘नयाँ गेमप्लान’, केन्द्रमा चुन्न पौडेल

    • lumbinisanjal
    • २०८२ माघ २८, बुधबार १८:४२
    2.7K
    SHARES
    रुपन्देही–२ मा काँग्रेसको ‘नयाँ गेमप्लान’, केन्द्रमा चुन्न पौडेल

    बुटवल, २८ माघ । नेपाली काँग्रेसले ‘बद्लिएको काँग्रेस’ भन्ने स्पष्ट सन्देशसहित चुनावी अभियानलाई तीव्र बनाएको छ। त्यसको प्रत्यक्ष प्रभाव रुपन्देही क्षेत्र नं. २ मा देखिन थालेको छ, जहाँ पार्टीले नेतृत्व मात्र होइन, कार्यशैली पनि रूपान्तरण भएको सन्देश कार्यकर्ता र मतदातासमक्ष पुर्‍याएको छ।

    चुनावी प्रचारप्रसार औपचारिक रूपमा सुरु हुनुअघि नै काँग्रेसले यस क्षेत्रमा संगठनात्मक गतिविधिलाई उच्च प्राथमिकतामा राख्दै आन्तरिक तयारीलाई तीव्र पारेको छ। रुपन्देही–२ मा काँग्रेसका तर्फबाट वरिष्ठ उद्योगी तथा समाजसेवी चुन्नप्रसाद पौडेल चुनावी प्रतिस्पर्धामा उत्रिनु भएको छ।

    नेपाली काँग्रेस क्षेत्र नं. २ रुपन्देहीका सभापति तथा प्रचारप्रसार मूल समितिका संयोजक प्रजापाल गिरीले देशको विकास र समृद्धिका लागि काँग्रेसको जित अनिवार्य रहेको धारणा राख्दै उम्मेदवारलाई जिताउने लक्ष्यसहित ठोस रणनीतिका साथ अभियान अघि बढाइएको जानकारी दिनुभयो। उहाँका अनुसार प्रचारप्रसार कार्यक्रम सुरु हुनु अघि नै क्षेत्रका २३ वटै वडामा वडा स्तरीय प्रचारप्रसार कार्यालय स्थापना अन्तिम चरणमा पुगेको छ।
    सोही क्रममा बुधबार बुटवल उपमहानगरपालिकाको वडा नं. ९ र १२ मा वडा स्तरीय प्रचार कार्यालय उद्घाटन गरिएको छ।

    उद्घाटन कार्यक्रममा उम्मेदवार चुन्नप्रसाद पौडेलले काँग्रेस नेतृत्वको सरकारले मात्र मुलुकलाई विकास र समृद्धिको मार्गमा अघि बढाउन सक्ने स्पष्ट धारणा राख्नुभयो। उहाँले रुपन्देही–२ को आर्थिक, सामाजिक र औद्योगिक विकासलाई आफ्नो पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि पार्टीका नेता–कार्यकर्ता मात्र होइन, सम्पूर्ण मतदातालाई आफूलाई विजयी गराउन अपिल गर्नुभयो।

    २००७ सालयता मुलुक संकटमा पर्दा काँग्रेसले नै निकास दिएको स्मरण गराउँदै पौडेलले वर्तमान चुनौतीको समाधान पनि काँग्रेस नेतृत्वबाटै सम्भव हुने विश्वास व्यक्त गर्नुभयो। जेन–जी पुस्ताको भावना र अपेक्षाअनुसार देशलाई अघि बढाउन अनुभवी र लोकतान्त्रिक नेतृत्व आवश्यक रहेको उहाँको भनाइ थियो।
    कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य रामबहादुर कार्कीले जेन–जी आन्दोलनपछि काँग्रेसले गहिरो आत्मसमीक्षा गर्दै आफूलाई रूपान्तरण गरेको बताउनुभयो। “बद्लिएको काँग्रेसले अब देशको अवस्था बदल्नेछ,” उहाँले भन्नुभयो।

    त्यसैगरी क्षेत्रीय सभापति प्रजापाल गिरीले जेन–जी विद्रोहपछि काँग्रेस नयाँ सोच र नयाँ कार्यदिशासहित अघि बढेको उल्लेख गर्दै चुनावपूर्व हुने गठबन्धन संस्कृतिको अन्त्य नै बद्लिएको काँग्रेसको ठोस संकेत भएको दाबी गर्नुभयो। उहाँले प्रोपोगान्डा र निराशाको राजनीतिविरुद्ध काँग्रेस स्पष्ट योजना र ‘दैनिक क्यालेन्डर’ सहित चुनावी मैदानमा उत्रिएको स्पष्ट पार्नुभयो।

    कार्यक्रममा तरुण दल रुपन्देहीका अध्यक्ष प्रसन कोइराला लगायत तरुण , विद्यार्थी तथा समाजसेवीको उल्लेख्य उपस्थिती रहेको थियो ।



    lumbinisanjal   
  • २०८२ माघ २८, बुधबार १८:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP